बैंकहरूको कर्जा प्रवाह बढ्न थाल्यो

 फागुन ५, २०८१ सोमबार १२:१२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – चालू आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको विवरण अनुसार चालू आर्थिक वर्षको सात महिनामा वाणिज्य बैंकहरूको निक्षेप अर्थात् बैंकमा जम्मा हुने रकमको तुलनामा कर्जा बढेको हो । २० वटा वाणिज्य बैंकको सात महिनाको निक्षेप ४ दशमलव २१ प्रतिशत बढ्दा कर्जा लगानी ५ दशमलव ६२ प्रतिशतले बढेको छ ।

पछिल्लो सात महिनामा कर्जा लगानी ४८ खर्ब २७ अर्ब र निक्षेप सङ्कलन ५९ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ । असार मसान्तसम्ममा बैंकहरूले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४५ खर्ब ७० अर्ब रुपैयाँको कर्जा प्रवाह गरेका थिए ।

पछिल्लो सात महिनामा निक्षेपभन्दा धेरैले कर्जा विस्तार गर्नेमा सिटिजन्स बैंक, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

ग्लोबल आईएमई बैंकको कर्जा लगानी ४ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ४ खर्ब ३१ अर्ब र निक्षेप ५ खर्ब २२ अर्ब रुपैयाँबाट बढेर ५ खर्ब २९ अर्ब पुगेको छ ।

एभरेष्ट बैंकको कर्जा लगानी २ खर्ब ११ अर्ब रुपैयाँबाट बढेर २ खर्ब २० अर्ब र निक्षेप २ खर्ब ५७ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ६१ अर्ब पुगेको छ ।

यसैगरी सिटिजन्स बैंकको कर्जा लगानी ११ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब र निक्षेप ९ अर्ब रुपैयाँले बढेर २ खर्ब पुगेको छ ।

हिमालयन बैंकको कर्जा लगानी ३ अर्ब रुपैयाँले बढेर २ खर्ब ५० अर्ब र निक्षेप ३ अर्ब रुपैयाँले बढेर ३ खर्ब पुगेको छ ।

लक्ष्मी सनराइज बैंकको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेर २ खर्ब ८१ अर्ब र निक्षेप १३ अर्ब रुपैयाँले बढेर ३ खर्ब ४७ अर्ब पुगेको छ ।

माछापुच्छ्रे बैंकको कर्जा लगानी १२ अर्ब रुपैयाँले बढेर एक खर्ब ४३ अर्ब र निक्षेप ७ अर्ब रुपैयाँले बढेर एक खर्ब ६८ अर्ब पुगेको छ ।

सिद्धार्थ बैंकको कर्जा लगानी १३ अर्ब रुपैयाँले बढेर २ खर्ब १६ अर्ब र निक्षेप एक अर्ब रुपैयाँले घटेर २ खर्ब ४३ अर्बमा सीमित भएको छ ।

नबिल बैंकले ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप सङ्कलन र ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

एनआईसी एशिया बैंकको कर्जा ३२ अर्ब रुपैयाँले घटेर २ खर्ब ५२ अर्ब र निक्षेप ५८ अर्ब रुपैयाँले घटेर ३ खर्ब दुई अर्बमा सीमित भएको छ ।

कुमारी बैंकले ३ खर्ब एक अर्ब रुपैयाँ कर्जा लगानी र ३ खर्ब ६१ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरेको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया