काठमाण्डौ उपत्यकासहित मुख्य शहरहरूमा वायु प्रदूषण उच्च

 फागुन ५, २०८१ सोमबार १२:१२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पनि काठमाण्डौ उपत्यकासहित देशका मुख्य शहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । एक हप्तादेखि लगातार वायु प्रदूषण उच्च रहेकोमा आज पनि कायमै रहेको हो ।

वातावरण विभागको तथ्याङ्क अनुसार सबैभन्दा धेरै वायु प्रदूषण पोखरामा रहेको छ । पोखरामा रहेको मापन केन्द्रले दिउँसो वायु प्रदूषण मापन सूचक (एक्यूआई) ४५० सम्म देखाएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई ३०० भन्दा माथि हुनु भनेको घातक अवस्था हो ।

यस्तै संसारका मुख्य शहरहरूको वायु प्रदूषणबारे तथ्याङ्क सार्वजनिक गर्दै आएको आईक्यूएअरका अनुसार काठमाण्डौ विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा रहेको छ ।

काठमाण्डौको एक्यूआई २०० भन्दा माथि छ । काठमाण्डौभन्दा बढी प्रदूषित शहरहरूमा पाकिस्तानको लाहोर र भारतको नयाँ दिल्ली रहेका छन् । केही दिनदेखि मौसम धुम्म भएको र पानी नपरेको कारण पनि वायु प्रदूषण बढेको विज्ञहरू बताउँछन् ।

विभिन्न ठाउँमा भइरहेको डढेलो र किसानहरूले खेतबारीमा बालेको आगोले पनि वायु प्रदूषण बढाइरहेको छ । मौसमविद्हरूले पानी नपरुञ्जेल प्रदूषण घट्ने सम्भावना पनि कम रहेको तर तत्काल काठमाण्डौलगायत शहरमा पानी पर्ने सम्भावना नरहेको बताएका छन् ।

नेपालमा वर्षभरि नै वायु प्रदूषण भइरहनेमा चिसोयाम अर्थात् पुस,माघ र अत्यधिक सुक्खा अर्थात् चैत वैशाखमा वायु प्रदूषण बढ्ने गरेको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया