च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
क्वालालम्पुर – मलेसियाका नवनिर्वाचित राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले बिहीबार राज्यारोहण गर्नुभएको छ ।
यसअघिका राजाले पाँच वर्षे कार्यकाल पूरा नहुँदै बीचमै राजीनामा दिएकाले निर्वाचन मार्फत् छनौट गरिएका नयाँ राजाले राज्यारोहण गर्नुभएको हो ।
खेलप्रेमी नयाँ राजा अब्दुल्लाहले राज्यारोहण समारोहमा नीलो पानी रङको औपचारिक पोशाक लगाउनुभएको थियो । मलेसियाका नयाँ राजा इंग्लिस फुटबल क्लब आर्सनलका प्रशंसक पनि हुनुहुन्छ । अध्ययनका क्रममा लण्डन बस्दा उहाँले मैदानमै पुगेर आर्सनलको खेल पनि हेर्नु भएको छ । त्यस्तै उहाँ थियरी हेनरीको पनि प्रशंसक भएको राजा अहमदका प्रोटोकल अफिसर अब्दुल रहमान इन्दुतले जानकारी दिनुभएको छ । आर्सनलको रङ रातो भए पनि राजालाई भने नीलो रङ मन पर्छ ।
क्वालालम्पुरस्थित राष्ट्रिय दरबारमा संस्कृतिक र परम्परागत रुपमा आयोजना गरिएको भव्य समारोहमा नयाँ राजाले सपथ ग्रहण गर्नुभएको थियो ।
समारोहमा प्रधानमन्त्री महाथिर मोहम्मदसहित हजारौँ अतिथिहरु, मुस्लिम धर्मगुरुहरुलगायतको उल्लेख्य सहभागिता थियो भने टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
सपथ ग्रहण अगाडि ५९ वर्षीय नयाँ राजा अब्दुल्लाहलाई राष्ट्रिय संसदमा स्वागत गरिएको थियो भने सम्मान गारत पनि दिइएको थियो । मलेसियाको राजसभाद्वारा केही दिन अगाडि संवैधानिक राष्ट्रप्रमुखका रुपमा निर्वाचित सुल्तान मलेसियाको १६औँ राजा हुनुभएको छ ।
यसअघिका राजा सुल्तान मुहम्मद पाँचौंले यही जनवरी ६ मा राजीनामा घोषणा गरेपछि अब्दुल्लाहलाई नयाँ राजा चयन गरिएको हो । मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले तोकिएको समयावधि नसकिँदै राजीनामा दिने मुहम्मद पहिलो राजा हुनुहुन्छ ।
उहाँले राजीनामा दिनुको कारण अहिलेसम्म स्पष्ट पारिएको छैन, तर रुसी पूर्व सुन्दरीसँग विवाह गरेकाले उहाँले राजीनामा दिएको बताइएको छ । राजीनामा घोषणा गर्नुअघि ४९ वर्षीय १५औं राजा सुल्तानले केही सातादेखि बिदा लिनु भएको थियो । उहाँले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो बिदा लिनु भएको थियो ।
राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हाल्नु भएको थियो । मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ । त्यही परम्परा अनुसार ५९ वर्षीय अब्दुल्लाह पहाङ राज्यबाट नयाँ राजा निर्वाचित हुनुभएको हो ।
नयाँ राजा अब्दुल्लाह खेलकुद क्षेत्रमा अत्यधिक सक्रिय व्यक्ति हुनुहुन्छ । उहाँ आसियन फुटबल महासंघ परिषद् र फिफा परिषद्को सदस्य पनि हुनुहुथ्यो । साथै उहाँले मलेसिया फुटबल संघको अध्यक्षको जिम्मेबारी पनि सम्हाल्नु भएको छ ।
उहाँसँगै पेराकका सुल्तान नज्रिन शाहलाई राज्य उपप्रमुखका रुपमा घोषणा गरिएको अधिकारीहरुले बताएका छन् । यसअघि पनि कार्यबाहक राजाको जिम्मेवारी सम्हाल्नु भएका ६२ वर्षीय नज्रिनलाई उपप्रमुखको रुपमा फेरि पनि पाँच वर्षका लागि निरन्तरता दिइएको हो ।
सन् १९५७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि यसरी छानिएका राजाहरू दैनिक प्रशासनिक काममा भने संलग्न हुने व्यवस्था छैन । तर प्रधानमन्त्रीलगायत महत्वपूर्ण पदमा हुने नियुक्ति भने राजाबाट हुन्छ ।
मलेसियाका राजा इस्लाम धर्मका प्रमुख र सशस्त्र सुरक्षा निकायहरूका पदेन प्रमुख हुने व्यवस्था रहेको छ । बहुसङ्खयक मुसलमानहरूले राजाले मलेसिया र इस्लाम धर्मको परम्परालाई एकताबद्ध राखेको विश्वास गर्छन् ।
अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिलाई क्षमादान गर्ने अधिकार पनि राजासँग छ । तर राजाको मानहानी हुनेगरी आलोचना गर्नेलाई भने जेल सजाय पनि हुन सक्ने व्यवस्था रहेको छ ।
मलेसियाका १३ राज्यमध्ये नौ राज्यमा परम्परागत शासकहरू अर्थात् सुल्तान छन् भने बाँकी चार राज्यमा गर्भनर छन् । ती नौ राज्यका सुल्तानमध्येबाट चक्रिय प्रणाली मार्फत् पाँच पाँच वर्षका लागि राजा छान्ने परम्परा रहेको छ ।
प्रायः पालो कुरेर बसेका सुल्तान पालैपालो राजा हुन्छन् । अहिले राजा हुने पालो पहाङ राज्यका सुल्तानको भएकाले त्यहीँका सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाह राजा हुनु भएको हो
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।