टाइगर कप भलिबल : पुरुषतर्फ गण्डकी र आर्मी विजयी
माघ १५, २०८१ मंगलबार
काठमाण्डौ – ‘भोग्नेलाई नै थाहा हुन्छ । सुन्नेले सुनेको जस्तो कहाँ हुन्छ र ।’ वैदेशिक रोजगारीमा गएकाहरुसँग कुरा गर्दा धेरैले यही वाक्य प्रयोग गर्छन परदेश, सुनेको र सोचेको जस्तो छैन भन्ने कुरा बुझाउन ।
यस्तै भोगाई छ खोटाङका तोसल बस्नेतले पनि । विदेश जानुअघि उहाँले सोचेको विदेश निक्कै सुन्दर थियो । तर सपनाको भारी बोकेर परदेश टेकेपछि उहाँले त्यो सुन्दर परदेश देख्न र भोग्न पाउनुभएन ।
खोटाङको हलेसी महादेवस्थानका तोसलको पढाइ एसएससीभन्दा अघि बढेन । पढाइ रोकिनुको कारण थियो घरको आर्थिक अवस्था । पढाइ रोकिएपछि तोसलको ध्यान वैदेशिक रोजगारीले तान्यो । हुन त उहाँलाई गाउँमै केही गरौं कि भन्ने सोच पनि आएको हो ।
तर गाउँमै केही गर्छु भन्दा सहयोग गर्ने कमै भए त्यो बेला । त्यसको ठिक उल्टो विदेश जान्छु भनेपछि भने उहाँले ऋण लिन धेरै दुःख गर्नुपरेन । पैसा जोहो गरेपछि विदेश पठाइदिने मान्छे त सजिलै पाइहाल्नुभयो उहाँले ।
उहाँका काकाकी साली काठमाण्डौमा एजेण्टको काम गर्थिन । उनैले तोसललाई प्याराडाइज म्यानपावरमा पुर्याइन् । म्यानपावरमा पुर्याउनुअघि नै उनले तोसलसँग ९० हजार रुपैयाँ लिइसकेकी थिइन् । २०६५ सालको भदौ महिनामा कतार जान भनेर पासपोर्ट बुझाएर घर फर्किएका तोसललाई दसैं, तिहार मनाएपछि म्यनपावरले उड्न तयार भएर आउनु भनेर बोलायो ।
उहाँ चाडबाड सकेर केही वर्षपछिका चाडबाड त्योभन्दा फरक तरिकाले मनाउने सपना साँचेर खोटाङबाट काठमाण्डौ आउनुभयो । तर म्यानपावरले सबै प्रक्रिया पुरा गरेपनि भिसा नआएको भन्दै साउदी जान प्रस्ताव गर्यो । तोसलले मान्नुभएन ।
पैसा लिइसकेकी एजेण्ट र म्यानपावर उहाँलाई जसरी पनि पठाउन लागिपरेका थिए । पासपोर्ट फिर्ता दिएका थिएनन तोसललाई । ‘केहीदिन पर्खिंदा पनि नदिएपछि मैले म्यानपावरको सञ्चालकलाई नै थर्काउनुपर्यो’ सञ्चालकलाई नै ठूलो स्वरमा सम्झाएपछि तोसलले पासपोर्ट फिर्ता पाउनुभयो ।
त्यञ्जेलसम्म उहाँले विकल्प खोज्न थाल्नुसक्नुभएको थियो । तोसललाई म्यानपावरमा पुर्याउने महिलाका देवर मलेसियाबाट केहीदिन अघि मात्रै नेपाल आएका थिए । उनले आफूले १२ वटा भिसा ल्याएको बताए । काकाकी सालीले पनि त्यसमै जान प्रस्ताव गरिन् ।
त्यतिञ्जेलसम्म तोसलले घरबाट ऋण गरेर पैसा डुबाएको भन्ने गुनासो सुन्नु पर्न थालिसकेको थियो । उहाँका लागि घर फर्किनुभन्दा मलेसिया जानु उचित लाग्यो । पैसा पहिल्यै दिइसकेकाले कामका बारेमा बुझ्नु थियो ।
उहाँले बुझ्नु पनि भयो मलेसियामा त्यही कम्पनीमा काम गर्ने आफन्तसँग । उनले पनि राम्रै भनेपछि तोसल तेल बनाउने कम्पनीमा काम गर्न मलेसिया पुग्नुभयो । मलेसिया उड्दै गर्दा लोसलले मलेसियामा त्यो पनि कम्पनी भनेपछि सहरतिरै होला भन्ने सोच्नुभयो । तर कम्पनी सहरमा थिएन ।
हवाइजहाजबाट ओर्लिएपछि उहाँसँगै सबैलाई गाडीमा राखेर निक्कै पर लगियो । केही समय पक्की सडकमा गुडेको गाडीले कच्ची सडकमा पनि लामै समय गुडाएर घना जंगलमा पुर्यायो ।
जंगल सामान्य थिएन । गाउँमै हुर्किएका तोसल घना जंगल देखेरै डराउनुभयो । उहाँले त्यहाँ पुगेपछि राम्रो छ भन्ने आफन्तलाई सोध्नुभयो । तर ती आफन्तले त्यही कम्पनीमा काम गरेपनि ठाउँ भने फरक रहेछ ।
‘पुगिसकेपछि के गर्नु काम त गर्नैपर्यो’ तोसलले काम थाल्नुभयो । काम गर्ने ठाउँ र बस्ने कोठा साइकलमा १५ मिनेट जतिको दुरीमा थियो । पहाडमा हुर्किएका तोसलले त्यतिञ्जेल साइकल कुदाउनुभएको थिएन । केहीदिन साथीहरुसँग हिँडेरै कम्पनी जानुभयो । हिँडेर जाँदा आधा घण्टा नै लाग्थ्यो ।
जंगल देखेर डराएका तोसल सर्प र बँदेल देखेपछि त झनै डराउनुभयो । ‘यहाँ जंगली बँदेल देख्नु न त्यत्रा सर्प अनि त बेकारमा आइएछ भन्ने लाग्न थाल्यो’ केही समय त तोसलको मनमा यस्तै कुरा खेलिरहे ।
‘यही पीडाले त्यहाँ पुग्ने प्रायले भाग्ने योजना बनाउँदा रहेछन्’ तोसलले भन्नुभयो । एकातिर घना जंगलमा काम गर्नुपर्दाको पीडा अनि अर्को तिर ५ सय २० रिंगिटमा १ सय ५० रिंगिट लेभी काटिँदाको समस्या । तोसलले पनि केही महिनामा भाग्ने सोच बनाउनुभयो । तर भाषा आउँदैनथ्यो ।
दुई वर्षसम्म त्यही जंगलमा बिताएका तोसल त्यसपछि केहीदिनको बिदा लिएर गाडीमा ३ घण्टाको यात्रा गरेर सहर पुग्नुभयो काम खोज्न । तर काम खोजिदिने भनेर बोलाएका नेपाली युवाको उहाँलाई विश्वास लागेन ।
‘कुरा नै कस्तो कस्तो गर्थे तिनीहरुले त्यही भएर यसरी इलिगन (अवैधानिक) भएर काम गर्नुभन्दा त त्यहीँ ठिक छ भनेर फर्किएँ’ तोसल लिएको बिदा नसकिँदै त्यही कम्पनीमा फर्किनुभयो । दुई वर्ष पुगेपछि ओभरटाइम काम गर्न पाउन थाल्नुभयो ।
उहाँले महिनाको १५ सय रिंगिटसम्म कमाउनुभयो । ‘तर त्यसका लागि २४ घण्टा काम गर्नुपथ्र्यो’ तोसल सुनाउनुहुन्छ, ‘कम्पनीमा पुगिसकेपछि साथीहरु मिलाएर दुई घण्टा जति मिलाएर सुत्थ्यौं ।’
यही क्रम चार वर्षसम्म चल्यो । त्यसपछि भने उहाँ घर फर्किनुभयो । २०६९ सालमा घर फकिंदै गर्दा तोसलको कल्पना भोगाइमा बद्लिइसकेको थियो । त्यसैले उहाँले भन्नुभयो ‘विदेश कहाँ यहाँ सोचेको हुँदो रहेछ र ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।