नेपाली कांग्रेस विधान अनुसार चल्छ : सभापति देउवा

 फागुन २६, २०७५ आइतबार ११:३०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

म्याग्दी – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आफ्नै विधान भएकाले पार्टी विधान अनुसार चल्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा म्याग्दीले आइतबार सदरमुकाम बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले पार्टी विधान अनुसार चल्ने बताउनुभएको हो । 

सभापति देउवाले पार्टी भित्रको विवादलाई अन्त्य गर्नका लागि प्रयास गरिरहेको बताउँदै सहमति खोज्दाखोज्दै आफूले काम गर्न नपाएको गुनासो गर्नुभयो । उहाँले पार्टी विधान अनुसार चल्नुपर्ने भए पनि त्यसलाई अस्वीकार गर्ने प्रयासमा लागेकाले विवाद निस्किएको भन्दै नेपाल विद्यार्थी संघको विवाद अन्त्य गरिने बताउनुभएको छ ।

महासमितिको बैठकले पारित गरेका विषयप्रति पत्रकारले राखेको जिज्ञासामा देउवाले कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले सञ्चालन गरेको पार्टी पद्धतिलाई नै आफूले निरन्तरता दिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हिजो जुन अवस्था थियो पार्टीमा आज त्यही छ, अनि म हुँदा किन परिवर्तन गर्नुपर्‍याे पार्टी सञ्चालन पद्धति ?’ उहाँले वडाबाटै निर्वाचित भएर आउनुपर्नेमा आफूलाई कुनै समस्या नभएको बताउँदै आगामी महाधिवेशनबाट नयाँ रुप आउने हुँदा महाधिवेशन प्रतिनिधिले पनि केन्द्रीय सदस्यमा चुनाव लड्न पाउने बताउनुभएको थियो । 

कांग्रेस सभापति देउवाले भर्खरै मात्र सरकारले सिके राउतसँग गरेको सहमतिका विषयमा आफूले अध्ययन गर्न बाँकी रहेको बताउनुभएको छ । स्वतन्त्र मधेशका लागि आन्दोलनरत राउत समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन गरेको सहमति सकारात्मक भए पनि सरकारले बुदाँगत रुपमा गरेको सहमतिका बारेमा थप अध्ययन गर्ने उहाँको भनाई छ । 

दुवै पक्षबीच गरिएको सहमतिमा रहेको जनअभिमतको बुँदालाई गम्भीरतापूर्वक लिएको बताउँदै देश टुक्राउने गरी मधेशमा अस्थितरता ल्याउन जनमत सङ्ग्रहको प्रयास भए पार्टीलाई अमान्य हुने उहाँले चेतावनी दिनुभयो । आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउने सरकारको प्रयास भने सकारात्मक रहेको देउवाको भनाई छ । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया