काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
मोरङ – विराटनगरको शहीद रंगशालामा नेपाली महिला खेलाडीहरु शनिबार हुने बंगलादेशसँगको खेलको पूर्व तयारीमा थिए । गुरुले खेलाडीलाई सिकाउँदै थिए भने खेलाडीहरु उत्साहका साथ बंगलादेशसँगको खेल जित्ने योजना बनाउँदै गरेका देखिन्थे ।
नेपाली महिला टिमकी क्याप्टेन निरु थापा प्रशिक्षकले सिकाएअनुसारको खेल प्रदर्शन गरेर समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने आशामा छिन् । बंगलादेशको खेल पनि राम्रो रहेकोले उनीहरुसँग केही टेक्निकल रुपमा खेल्नु पर्ने अवस्था रहेको उनले बताइन् ।
नेपाली महिला टिमकी क्याप्टेन बंगलादेशको भन्दा नेपाली टिम राम्रो भएकोले सहजै जित हात लाग्नेमा ढुक्क छिन् । भुटानसँग खेलेको भन्दा केही डराएर खेल्नु पर्ने अवस्था भने रहेको नेपाली टोलीको भनाइ छ । नेपाली टोलीमा देखिएको आक्रमण र डिपफेन्सलाई ध्यान दिएर खेल्नु पर्ने निरु बताउँछिन् । भुटानसँगको केही त्रुटीलाई औल्याउँदैतयारीमा रहेको नेपाली महिला टोली बंगलादेशलाई हराउने दाउमा छ ।
बंगलादेशसँगको खेलको लागि नेपाली टिम पूर्ण तयारी अवस्थामा छ । जितका लागि खेल खेल्ने भएकोले बंगलादेशसँगको खेलमा क्लिन चिट लिएर निस्कने दाउमा नेपाली प्रशिक्षक हरि खड्का छन् । भुटानसँग केही समस्या भएको महसुस गरेका नेपाली कोेच बंगलादेशसँगको खेल आक्रामक खेलाउने दाउमा छन् । प्रशिक्षक खड्का बंगलादेशलाई जितेर समूह विजेता हुँदै सेमिफाइनलमा पुग्ने दाबी गर्छन् । ‘बंगलादेश, भारत र नेपाल दक्षिण एसियामा स्थापित टिम हुन्’, खड्काले भने, ‘बंगलादेशभन्दा बलियो टोली नेपाल हो, हामी निश्चित जित्छौँ ।’
भुटानसँग पहिलो खेल जितेको नेपालले भुटानलाई नै हराएको बंगलादेशसँग खेल्दैछ । दुवै देशले भुटानलाई हराएकोले दुवै देशले कुन खेलाडी कस्तो भनेर आँकलन गरिसकेका छन् । भुटानलाई हराएर आएको बंगलादेशको खेललाई हेरेर नेपालले योजना बनाइसकेको छ । बंगलादेशका केही खेलाडीलाई नेपालले राम्रा खेलाडीका रुपमा लिएकोले केही योजना परिवर्तन गर्ने सोचमा नेपाली कोच छन् ।
अहिलेसम्म देखाएको खेलहरुबाट स्ट्राइकरमा नेपाल दक्षिण एसियामै राम्रो रहेकोले स्ट्राइकरले आफ्नो क्वालिटीअनुसार खेल्ने आशा गरिएको छ
यस्तो छ इतिहास
बंगलादेशबाट सुरु भएको साफको पाँचौँ संस्करणसम्म आइपुग्दा बंगलादेश र नेपालबीच दुई पटक भेट भएको छ । जसमा गोर्खाली टोलीले बंगाल टाइगरलाई दुवैपटक हराउन सफल भएको छ ।
फिफा महिला वरीयताको १ सय २५ औं स्थानमा रहेको बंगलादेशले साफमा कुल १६ वटा खेलमा सहभागिता जनाएको छ । जसमा ८ जित, १ बराबरी र ७ हार रहेको छ । त्यसैगरी, नेपाली टोलीले कुल २० खेलमा १६ मा जित र ४ मा हार व्यहोरेको छ ।
त्यसैगरी नेपालले पछिल्लो पाँचवटा अन्तर्राष्ट्रिय खेलमा ३ मा जित २ मा हार व्यहोरेको छ । नेपालले भारतमा आयोजित वुमन्स गोल्डकप इरानलाई ३–०, भारतलाई २–१ र साफमा भुटानलाई तीन–शून्यले पराजित गरेको छ ।
त्यसैगरी, वुमन्स गोल्डकपमै म्यानमारसँग भने पहिलो खेलमा ३–० र फाइनलमा भने ३–१ गोलअन्तरले पराजित भएको थियो । त्यसैगरी बंगलादेशले पछिल्लो पाँच अन्तर्राष्ट्रिय खेलमा ३ मा जित र २ मा हार व्यहोरेको छ।
निरु र सावित्राको भर
नेपाली टोलीको भर पुनः एकपटक अनुभवी कप्तान निरु थापामाथि रहने देखिएको छ । ३६ क्याप जितेकी निरुले हालसम्म ११ गोल गरिसकेकी छिन् ।
त्यसैगरी, टोलीमा अनुभवी स्ट्राइकर सावित्रा भण्डारी पनि महत्वपूर्ण हतियारका रुपमा रहनेछिन्। भण्डारीले अन्तर्राष्ट्रिय खेलमा २६ क्याप जितेकी छिन् भने टोलीमै सर्वाधिक २५ गोल गरेकी छिन् । त्यसैगरी नेपाली टोलीमा युवा गोलकिपर अन्जली तुम्बाफोको अनुभव बंगलादेशविरुद्ध काम लाग्नेछ । पहिलो रोजाइकी किपर तुम्बाफोले १६ क्याप जितेकी छिन् ।
विराटनगरको शहीद रंगशालामा दिउँसो ३ बजेबाट नेपाल र बंगलादेशबीचको खेल सुरु हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।