आउँदाे बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने प्रम ओलीकाे प्रतिबद्धता

 चैत १२, २०७५ मंगलबार १७:२८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रदेशको सन्तुलित विकास हुनेगरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता जनाउनु भएको छ । 

प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने पनि बताउनु भयो । मंगलबार संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुसँग सिंहदरबारमा गरिएको अन्तरक्रिया कार्यक्रममा उहाँले चालू आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिन नसकिएको स्वीकार गर्दै आगामी आर्थिक वर्षको बजेटमा उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा कर्णाली प्रदेशलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता प्रधानमन्त्रीले जनाउनु भएको नेकपाका नेता एवम् रुकुम क्षेत्र नम्बर-१ का प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले जानकारी दिनुभयो । उहाँले आफूहरुले मुलुकको समृद्धिमा कर्णालीले दिन सक्ने योगदानका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइएको पनि बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न, एक उद्योगको अनिवार्य स्थापना गर्न, तारा तालदेखि रारा तालहुँदै मान सरोवर तालसम्मलाई पर्यटकीय आधार रुट बनाउन आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेका थिए ।

सुर्खेत क्षेत्र नम्बर-२ का प्रतिनिधिसभाका सांसद नवराज रावतले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशमा एउटा जलविद्युत आयोजना निर्माण गर्न, केन्द्रीय विद्युत प्रसारण लाइनको व्यवस्था गर्न पनि प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले संघीय संसदमा प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशका सांसदहरुलाई कर्णालीको विकासका लागि आवश्यक ठोस योजना बनाएर तत्काल ल्याउन पनि निर्देशन दिनुभएको थियो । जनप्रतिनिधिहरुले ल्याएको योजनामा आधारित भएर सरकारले आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम बनाउने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया