लगानीको लागि स्वागत छ, सरकारले सुरक्षा दिन्छ – प्रधानमन्त्री

 चैत १५, २०७५ शुक्रबार १०:५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न लगानीकर्तालाई आह्वान गर्नुभएको छ । काठमाण्डौमा सुरु भएको लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ ।’

लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्ने प्रधानमन्त्रीले बताउनुभयो । उहाँले एक वर्षअघि आफूले राराबाट सम्बोधन गर्दै नेपाल अब विकासको बाटोमा अघि बढ्छ भनेको र त्यसैअनुसार अब देश अघि बढ्ने पनि बताउनुभयो । ‘देशमा निर्वाचित सरकार छ, हामी विकास र लगानीको सुरक्षामा कुनै कम्पर्माइज गर्दैनौं, ढुक्क भएर लगानी गर्नुहोस्’ प्रधानमन्त्रीले भन्नुभयो ।

आर्थिक विकासबिना राजनीतिक सुधारले मात्र महत्व नराख्ने भन्दै प्रधानमन्त्रीले लगानीकर्तालाई झण्झट नहुनेगरी कानुन सुधार गरिएको जानकारी पनि दिनुभयो । उहाँले पूर्वाधार विकास सरकारको मुख्य प्राथमिकता भएको भन्दै निर्यातको लागि समस्या नभएको र आन्तरिक बजार पनि बढेको बताउनुभयो ।

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको विकासका लागि विदेशी लगानी आवश्यक रहेको बताउनुभयो । उहाँले सरकारले लगानीको सुरक्षा दिने बताउनुभयो ।

सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको हो । 

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ । 

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । 

सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६ सय बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ । 

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ । 
 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया