मन्त्रिपरिषद बैठक : हावाहुरी प्रभावितका लागि राहत र उद्धारको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन

 चैत १८, २०७५ सोमबार २२:२४:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सरकारले बारा र पर्साका प्राकृतिक विपद प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । 

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दुःखद परिस्थितिमा प्रशासनिक निकाय, सुरक्षा अंग, स्थानीय तह, निजी क्षेत्र, सामाजिक तथा गैह्सरकारी संस्थाहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी विपद प्रभावितहरुको उद्धार, राहत, उपचार एंवम् खाद्यान्न र बसोबासको प्रबन्ध मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो । घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था सरकारले मिलाउने भएको छ । 

त्यसैगरी घाइतेहरुको उपचारमा कुनै कमी कमजोरी हुन नदिने, घाइते भई अपाङ्ग तथा अशक्त हुनेहरु तथा तथा मृतकका परिवारका सदस्यहरुलाई सरकारले यथोचित व्यवस्था गर्ने, प्रभावित क्षेत्रमा कुनै पनि रोगको प्रकोप फैलन नदिन औषधि उपकरणसहितको थप स्वास्थ्यकर्मीहरुको टोली तुरुन्त परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ । 

विपद प्रभावित क्षेत्रमा विद्युत् , खानेपानी , सञ्चार लगायतका अत्यावश्यक सेवाहरु सुरु गराउन र थप क्षति हुन नदिन सम्बन्धित क्षेत्रहरुले पूर्ण सर्तकता अपनाउने साथै त्यसका लागि आवश्यक कदम चाल्ने निर्णय बैठकले गरेको छ ।

त्यसैगरी, गृह मन्त्रालयको समन्वयनमा विपदबाट भएको क्षतिको विवरण यथाशिघ्र तयार गर्ने, मुल्यांकन गर्ने  तथ्य र विवरणसहितको यथार्थ परिस्थिति स्पष्ट भइसकेपछि पुनःस्थापना तथा पुनर्निर्माणलगायतका आवश्यक विषयका सम्बन्धमा थप निर्णय गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले २७  जनाको मृत्यु भएको,  ६ सय १३ जना घाइते र ठूलो आर्थिक क्षति भएको भन्दै मृतकप्रति श्रद्धासुमन अर्पण गर्दै शोक प्रकट गरेको छ । त्यसैगरी प्रभावित शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

घटनालगत्तै उद्धार गर्ने, हेरविचार र राहत दिने र अस्पताल र स्वास्थ्य संस्थामा पु्याउन सहयोग गर्ने, समाचार सम्प्रेषण गर्ने सुरक्षा निकाय तथा सुरक्षाकर्मी, प्रशासनिक संयन्त्र, कर्मचारी, सरकारी तथा निजी अस्पतालका चिकित्सक, नर्सलगायतका स्वास्यकर्मी, रक्तदाता, संघीय तथा स्थानीय तहका प्रतिनिधि, निजी क्षेत्रका संघ संस्था तथा प्रतिनिधि, संचारमाध्यम सम्पूर्ण निकाय तथा आम समुदायबाट भएको सहयोगका लागि सरकारले धन्यवाद दिएको छ ।

प्रदेश सरकारलगायत सबै तहका निकायसँग समन्वयात्मक ढंगले राहत तथा पुनःस्थापनाको काम गर्ने निर्णय बैठकले गरेको छ । उद्धार कार्य सकिएकाले घाइतेको उपचार र तत्कालको बसोबासको प्रारम्भिक काम सकेपछि दीर्घकालीन व्यवस्थापनबारे निर्णय गरिने जानकारी सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

बारा र पर्सामा आइतबार राति आएको हावाहुरीका कारण २७  जनाको मृत्यु भएको थियो  भने ६ सय १३ जना घाइते भएका छन् । असिनासहितको हावाहुरीका कारण ठूलो आर्थिक क्षति भएको छ ।

तर प्रदेश सरकारले माग गरेबमोजिम संघीय सरकारले राष्ट्रिय शोक भने घोषणा गरेन । त्यस्तै तत्कालै राहतका लागि कुनै पनि ठोस घोषणा गरेको छैन । 

अन्तिम अपडेट: माघ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया