सरकार डिजिटल नेपाल बनाउने लक्ष्यमा सक्रिय छ: मन्त्री बाँस्कोटा
चैत २४, २०७५ आइतबार १४:३७:३५
|
रासस
काठमाण्डाै - सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपाल: सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य पूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुआवेले काठमाण्डाैमा आयोजना गरेकाे नेपाल मोबाइल काङ्ग्रेस-२०१९ को उद्घाटन गर्दै उहाँले सरकार सूचना प्रविधिमैत्री नेपाल(डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताउनुुभयो । उहाँले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पछिल्लो समय विश्व सूचना प्रविधिको विकास र विस्तारमा चितुवाको गतिमा अगाडि बढेको छ, हामी पनि यही गतिमा कुद्न चाहन्छौँ, यसका लागि सरकार यस क्षेत्रमा कार्यरत लगानीकर्ता, कम्पनीसँग साथ र सहयोग लिन चाहन्छ ।’
हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताउनुभयो । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उहाँले फोर जी पछि फाइभ जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गर्नुभयो ।
उहाँले सूचना प्रविधिका क्षेत्रमा थप लगानी आकर्षण गर्न, यस क्षेत्रमा रहेका नीतिगत झन्झट अन्त्य गर्न नयाँ सूचना प्रविधि ऐन ल्याउन लागिएको जानकारी गराउनुभयो ।
‘समयमा काम सम्पन्न हुनुपर्छ, नेपाल डिजिटल इकोनोमी यात्रामा छ, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खुद्रा व्यापार, वन, सिँचाइ, ऊर्जालगायत हरेक क्षेत्रमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्छ’, उहाँले भन्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल फ्रेमवर्कलाई पाँचवर्षभित्र कार्यान्वयनमा ल्याउन निर्देशन दिनुभएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
विश्वका १७० भन्दा बढी देशमा सूचना प्रविधिका क्षेत्रमा कार्यरत हुआवेले नेपालमा सन् १९९९ देखि कार्यरत छ । कम्पनीले पछिल्लो समय सूचना प्रविधि, मोबाइलका क्षेत्रमा गरेका काम प्रदर्शनीमा रहेका छन् । याे सम्मेलन चार दिनसम्म रहने छ ।
नेपालमा रहेकाे हुवावे कम्पनीका कार्यकारी अधिकृत देनि देङले डिजिटल इकोनोमीमा जोड दिन आग्रह गर्दै कम्पनीका गतिविधिबारे जानकारी गराउनुभयो ।
अन्तिम अपडेट: पुस २९, २०८१
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।