गुल्मी पहिरो : विस्थापित भोकभोकै, औषधि र खाद्यान्न बीच बाटोमै रोकियो

 साउन ११, २०७६ शनिबार ११:४८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी – गुल्मीको सत्यवती गाउँपालिका ३ र ४ वडाका पहिरो प्रभावितलाई राहत र औषधि पुर्‍याउन कठिन भएको छ ।

आवश्यक राहत सामग्री पुर्‍याउन नसक्दा विस्थापित भोकभोकै परेका छन् । तर राहत सामग्री भने थन्किएको छ । पहिरो जाने क्रम नरोकिएकोले औषधि र खाद्यान्न पठाउन समस्या भएको छ । औषधि र खाद्यान्न अस्लेवामा राखिएको छ ।

अस्लेवाबाट पहिरो प्रभावित क्षेत्र झण्डै ५ किलोमिटर दुरीमा रहेको सत्यवती गाउँपालिका–३ का वडासदस्य रुकबहादुर रानाले बताउनुभयो । ‘विस्थापित नागरिक भोकभौकै हुनुहुन्छ, उहाँहरुका लागि आएको राहत सामग्री बीच बाटोमै थन्किएको छ’, वडासदस्य रानाले भन्नुभयो,‘ प्रदेश र केन्द्र सरकारलाई पनि आवश्यक पहल गरिदिन अनुरोध गरेका छौँ ।’

गाउँपालिकाले सडक खुलाउन पहल भैरहेको जनाएको छ । विस्थापितका लागि खाद्यान्नको समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरबाट खाद्य सामग्री वितरण गरिएको थियो । ‘घरहरु क्षतविक्षत अवस्थामा छन्, घरसम्म पुग्ने निकाससमेत छैन’, रानाले बताउनुभयो ।

लिम्घामा तीनवटा घर पुरिएर ८ जनाको ज्यान गएको छ भने ठूलो लुम्पेकमा ५ जनाको ज्यान गएको छ । झण्डै तीनसय ५० घरधुरीका ६ सय नागरिक विस्थापित भएका छन् । उनीहरुलाई धर्मपुर र राम माध्यमिक विद्यालयमा ७ वटा शिविर बनाएर व्यवस्थापन गरिएको छ ।

पहिरो प्रभावित क्षेत्रमा रोगको महामारी फैलने जोखिम समेत बढेको छ । गएको सोमबार राति लिम्घा र ठूलो लुम्पेकमा गएको पहिरोले पुरिएका पशुपंछी सडेपछि दुर्गन्ध फैलन थालेको छ । ६ सय बढी बस्तुभाउ पहिरोले पुरिएका र दुर्गन्ध फैलन थालेको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी र युवा टोलीले पहिरोमा पुरिएका घरका सामग्री व्यवस्थापन गर्ने, मरेका पशु गाड्ने काम समेत गरेका छन् । तर पहिरोलगत्तै स्थानीय बासिन्दाले मरेका पशु भिरबाट फालेकाले कसरी हटाउने समस्या भएको छ ।

हैजा, झाडापखाला जस्ता रोग फैलन सक्ने भएकाले गाउँपालिकाले ठूलो लुम्पेक स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी सहितको टोली पहिरो प्रभावित क्षेत्रमा पठाएको छ । 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया