ह्वासिन सिमेन्टकाे जग्गासम्बन्धी सम्झौता रद्द गर्न सार्वजनिक लेखा समितिको निर्देशन

 साउन २६, २०७६ आइतबार २०:२४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - संसदीय समितिले ह्वासिन सिमेन्टले स्थानीय तहसँग जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसदको सार्वजनिक लेखा समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले धादिङको बेनिघाट–रोराङ गाउँपालिकासँग त्यस कम्पनीले ५० वर्षसम्म जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको ठहर गर्दै रद्द गर्न सरकारलाई निर्देशन दिएको हो । चिनियाँ लगानीमा निर्माणाधीन सिमेन्ट कम्पनीले स्थानीय गाउँपालिकासँग जग्गा भाडामा लिन गरेको सम्झौता गैरकानुनी भएको भेटिएपछि रद्द गर्न निर्देशन दिइएको समितिका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

याे सिमेन्ट उद्योगको विवाद समाधानका लागि समितिले गठन गरेको सांसद लेखराज भट्ट नेतृत्वको उपसमितिले पेश गरेको स्थलगत अध्ययन प्रतिवेदनलाई आधार बनाएर समितिले स्थानीय तहसँग सो सिमेन्ट कम्पनीले गरेको जग्गाको सम्झौता खारेज निर्देशन दिएको छ ।

त्यसैगरी समितिले उद्योगका लागि सडक निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकनको अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराएको छ । बैठकले स्थानीय जनतालाई जग्गाको मुआब्जा दिएर मात्रै विद्युत प्रसारण लाइनको व्यवस्था गर्न पनि सिमेन्ट कम्पनीलाई निर्देश गरेको छ ।

१४ अर्ब ४० करोड रुपैयाँकाे लगानीमा बनिरहेकाे सिमेन्ट कम्पनीले स्थानीयको गुनासोलाई बेवास्ता गर्दै सडक निर्माण र विद्युत प्रसारण लाइनको काम अघि बढाएको थियो । बैठकमा उद्योग सचिव यामकुमारी खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले सिमेन्ट कम्पनीलाई सर्त अनुसार काम नगरे कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उद्योग सचिव खतिवडाले सिमेन्ट कम्पनीले उद्योग दर्ताको सर्त अनुसार काम गरे-नगरेको कडा निगरानी राख्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले स्थानीय जनताको गुनासोलाई सम्बोधन नगरी सो सिमेन्ट कम्पनीले काम गरेको पाइए कारबाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लगानी बोर्ड ऐन अनुसार नेपालमा सहज, सुलभ र गुणस्तरीय  सिमेन्ट उत्पादन गरी निर्यात गर्ने गरी सो सिमेन्ट उद्योग स्थापना गर्न सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको हो ।

 

अन्तिम अपडेट: माघ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया