नेपाली महिला टाेली खाे–खाे विश्वकपकाे फाइनलमा भारतसँग पराजित
माघ ६, २०८१ आइतबार
ऊर्जा, जलस्रोत तथा सिंँचाइमन्त्री वर्षमान पुनले नेपालभित्रै बिजुली खपत बढाउन सरकार लागिपरेको बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३४ औं वार्षिकोत्वसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको विशेष कार्यक्रममा मन्त्री पुनले अबको १÷२ बर्षपछि विजुली उत्पादन भन्दा खपत कम हुन सक्ने सम्भावना भएकाले अहिलेदेखि नै खपतको योजना बनाइरहेको पनि जानकारी दिनुभयो ।
देशमा खपत गर्ने पहिलो प्राथमिकता रहेको र यहाँ धेरै भएको विजुली निर्यात गर्नुको अर्को विकल्प नहुने उहाँले बताउनुभयो ।
‘हामीले देशमा खपत गर्न नसकेको विजुली बेच्ने नै हो, सकभर हामीले देशमै खपत बढाउने हो, यहाँ खपत हुन सकेन भने मुल्यको बार्गेनिङ गरेर भारत या बंगलादेशमा बेच्न सक्छौं, यस्तो दिन धेरै टाढा छैन ।’ मन्त्री पुनले भन्नुभयो ।
यस्तै मन्त्री पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमध्ये एक नम्बरको बनाउनको घोषणा पनि गर्नुभएको छ । उहाँले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँभन्दा बढी नाफामा लैजाने घोषणा पनि गर्नुभएको छ ।
मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरबको वर्ष भएको बताउनुभयो । ‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ठ बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भन्नुभयो । ‘अधिकांश संस्थाहरु घाटामा चलिरहंदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अव यसलाई एक नम्बर संस्थान बनाउने छौँ ।’
तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५÷७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी झण्डै १५ अर्बमा झरेको छ ।
गत आर्थिक वर्षमा विद्युत चुहावटलाई १५.३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४÷७५मा २०.४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५.१३ प्रतिशत विन्दुलाई घटाएर १५.३२ प्रतिशतमा झारिएको हो ।
मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिनुभयो । ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ’ उहाँले भन्नुभयो, ‘विगतमा उच्यालो दिन जुनौतिपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनु पर्ने चुनौती छ ।’
ऊर्जा सचिव एवं प्राधिकरण संचालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु अव चुनौतीपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ्ग स्टेशनहरु निर्माण गरी विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विद्युतको आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताउनुभयो ।
‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरण प्रति सबैको विश्वास अभिवृद्धि हुने र यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरु श्रृजना हुनेमा विश्वस्त छौं’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा मुलुकभरका जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भब प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।’
कार्यक्रममा गत वर्ष उत्कृष्ठ कार्यसम्पादन गर्ने १५ कर्मचारी, कार्यालय लगायतलाई सम्मान गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।