काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चितवन – भरतपुर महानगरपालिका १६ मा भएको उपचुनावको मतपरिणामले सत्तारुढ नेकपाभित्र तरंग पैदा गरेको छ ।
यो एउटा वडाको चुनावको विषयमात्र भन्दा पनि नेकपाका अध्यक्ष प्रचण्ड र महानगरपालिका प्रमुख रेणु दाहालको प्रतिष्ठासँग जोडिएको विषय थियो । प्रचण्डको गृह जिल्ला र निर्वाचन क्षेत्रसमेत रहेको भरतपुर महानगरपालिका १६ मा नेकपा पराजित हुनुलाई खास अर्थमा हेरिएको छ ।
यसअघिको चुनावमा एमाले एक्लैले जितेको ठाउँमा अहिले दुई पार्टी मिलेर एउटै उम्मेदवार उठाउँदा समेत किन हारे ? नेकपाभित्र यो बहसको विषय बनेको छ ।
यसअघिको चुनावमा २ हजार १ सय ३२ मत ल्याएर ६४ मत अन्तरले एमालेका उम्मेदवार विजयी भएका थिए । त्यतिबेला कांग्रेस उम्मेदवारले २ हजार ६८ मत ल्याएका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ९ सय ५८ मत ल्याएका थिए ।
अहिलो दुई पार्टी मिलेको अवस्थामा पहिले माओवादीले पाएको ९ सय ५८ मत थपिँदा कांग्रेसको भन्दा १ हजार मतको फरक पर्ने आँकलन भएको थियो ।
तर अहिले पार्टी एक हुँदा पनि नेकपा कांग्रेससँग ३ सय ८ मतको अन्तरले पराजित भयो । कांग्रेसका उम्मेदवार अमृतराज हमाल ३ हजार १ सय ८३ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । भरतपुर १६ मा ८ हजार ४ सय ८१ मतदाता रहेकोमा ६ हजार २ सय ५० मत खसेको थियो ।
हमाल यसअघिको पालिकाको चुनावमा नेकपाका चतुरमान गुरुङसँग ६४ मतकोे अन्तरले पराजित हुनुभएको थियो । यस्तै प्रतिद्वन्द्वी सत्तारुढ दल नेकपाका उम्मेदवार भक्तराज हमालले २ हजार ८ सय ७५ मत प्राप्त गर्नुभएको थियो ।
किन आयो यस्तो नतिजा ?
यसपटक अंकमा गरिएको मत आँकलन परिणाममा देखिएन । यसका पछाडि विविध कारण जोडिएका छन् । नेकपाभित्र चितवन प्रचण्डको जिल्लाको रुपमा हेरिने र एकीकरणको क्रममा संघसंगठनको अधिकांश नेतृत्वमा प्रचण्ड पक्षधरकै हाबी हुँदा पनि यो चुनावमा त्यसको असर देखिएन ।
पहिला एउटै पार्टीले जितेको वडामा अहिले दुई पार्टी एकताका साथ मिलेकै थिए र पनि चुनावलाई सकस ठानेर सांसद तहको प्रतिनिधिको नियमित खटाइले आम मतदाताको बुझाइमा नेकपा आक्रामकभन्दा रक्षात्मक देखिएको थियो ।
एउटा वडाध्यक्षको चुनावका लागि सिंगो पार्टीका अध्यक्ष प्रचण्डलाई सभामा बोलाइनु र मैदानमा उतार्नुलाई नेकपा अत्तालिएको अवस्थाको रुपमा चित्रित भएको थियो । यो शैलीप्रति नेकपाभित्रकै केही बुद्धिजीवि सन्तुष्ट थिएनन् । यसले आम मतदातामा नेकपा असाध्यै कमजोर रहेको भन्ने बुझाइ भएको थियो ।
महानगर प्रमुख रेणु दहाल नेकपाको नेतृ हुनुहुन्छ । नागरिक जहिले पनि सत्तापक्षको विपक्षमा रहन्छन् । महानगरको सत्तापक्ष नेकपा हुनु र नागरिकको अपेक्षा धेरै भएको र ती सबै अपेक्षा पूरा नहुँदा पनि यो परिणाम देखिएको बुझ्न सकिन्छ ।
एक पटक चुनावमा उठेर पराजित भएका उम्मेदवार दोस्रो पटक फेरि नागरिकको बीचमा पुग्दाको भावनात्मक सम्बन्धले धेरथोर काम गर्छ नै । कांग्रेसका उम्मेदवारलाई त्यही भावनाले पनि सहयोग पुगेको हुनुपर्छ ।
केन्द्र जिल्लामा पार्टी एकता भए पनि गाउँ टोलस्तरमा कार्यकर्ता एक हुन नसक्दा पनि यो परिणाम आएको मान्न सकिन्छ । पहिलेका चुनावमा गुट समूहको प्रभाव पर्ने कांग्रेसमा यस पटक कुनै संकेत देखिएन । कुनै पनि हालतमा चुनाव जित्नैपर्ने रणनीतिमा कांग्रेस लागेकै कारण पनि यो परिणाम देखिएको हो ।
नेकपालाई पाठ
चितवनको भरतपुर महानगरपालिकामा जित्दै आएको क्षेत्र गुमाएको नेकपालाई यो चुनावले धेरै कुरा सिकाएको छ । नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरु नागरिकका गुनासा र आलोचना रुचाउँदैनन् भन्ने आरोप थियो । अब गुनासो सुन्ने र आलोचना सहने चेत विकास गर्न यो परिणामले गजबको अवसर बनाइदिएको छ । जनप्रतिनिधि खास मानिसका घेराबन्दीमा मात्र होइन, आश गर्ने नागरिकका बीचमा पुग्नका लागि यो परिणामले बाटो देखाइदिएको हुनुपर्छ ।
नेकपाले जिल्ला तहमा पार्टी एकतापछिको संरचना बनाए पनि त्योभन्दा तल खासै संरचना बनाएको थिएन । संगठनमा जिम्मेवारी र संगठनको सक्रियता टोल तहदेखि बढाउनुपर्ने रहेछ भन्ने सिकाइ यो परिणामले देखाउँछ । किनकि यो वडामा निर्वाचनमा खटिने क्रममा यही वडाका कार्यकतालाईभन्दा भन्दा बाहिरका नेतालाई बढी जिम्मेवारी दिइएको देखिन्थ्यो ।
भरतपुर १६ को चुनावलार्ई प्रतिष्ठाको रुपमा लिएको कांग्रेस गुट समूहमा बाँडिएन । निर्वाचनको चरणमा कांग्रेसको व्यवस्थित खटाइ र कार्यकर्ता परिचालनले नै यो निर्वाचनमा प्रचण्डलाई धक्का दिँदै छक्का मारेको छ । नेकपाप्रति बढेको असन्तुष्टिले कांग्रेसलाई सहयोग पुग्यो, कांग्रेसको छक्काले प्रचण्डलाई धक्का पुग्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।