बाहुनको छोराले हलो जोत्दा : पानी चलेन, बिहे गरेकी छोरी माइती फर्काइयो

 साउन ११, २०७५ शुक्रबार ७:२३:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – राणाकालीन समय । ब्राह्मण जातिले हलो जोत्नु हुँदैन भन्ने मानसिकता । त्यही राणाकालीन समयमा नेपालकै इतिहासमा पहिलोचोटी ब्राह्मणहरुले हलो जोतेको इतिहास बोल्छ, लमजुङ सुन्दरबजार नगरपालिका–४, अर्चल्यानीको बाटेगराले ।    

विक्रम संवत् २००६ साल साउन ११ गते नेपालकै इतिहासमा पहिलोपल्ट पण्डित तोयानाथ अधिकारीले आफ्नो नेतृत्वमा बाटेगरामा एक हल गोरु नारेर हलो जोत्नुभएको थियो । 

हरिभक्त पौडेल मुखिया, शेषकान्त अधिकारी लेफ्टिनेन्ट र वसन्त अधिकारीले तोयानाथको क्रान्तिमा साथ दिए । हलो जोत्ने २७ जना ब्राह्मणको नेतृत्व भने पण्डित तोयानाथ अधिकारीले नै गर्नुभएको हो ।   

हलो जोत्दा प्रहरी हिरासतमा  

हलो जोतेकै निहुँमा २००६ सालमा तत्कालीन प्रहरीले उनीहरुलाई पक्रेर पोखरा लग्यो । जानकारहरु भन्छन्, ‘हलो जातेकै निहुँमा उनीहरुलाई प्रहरीले पक्रेर लगे । हिरासतमा राखे । पण्डित तोयानाथले केही खान मान्नुभएन । जसका कारण प्रहरी उनीहरुलाई छाड्न बाध्य भयो ।’ 

ब्राह्मणहरुले हलो जोतेको भनि त्यो बेलामा खिसिटिउरी गर्नेहरुको जमात ठूलै रहेको पाको पुस्ता बताउँछ । उनीहरुका अनुसार बाहुनले हलो जोतेको भन्दै त्यो समयमा गाउँघरमा उक्ति नै बनाईएको थियो । ‘पण्डित तोयानाथ हरिभक्त मुखिया शेषकान्त लेफ्टिनेन्ट वसन्त तिघ्रे, हलो जोती बिग्रे ।’ 

हलोक्रान्ति : कृषि, शिक्षा, राजनीति र समानताका लागि 

पण्डित तोयानाथले बाटेगरामा जम्मा ४ सियो हलो जोत्नुभएको बताइएको छ । पण्डित तोयानाथका भान्जा सुन्दरबजार नगरपालिका–३, छहरेपानीका भानुभक्त न्यौपानेले उज्यालोलाई भन्नुभयो, ‘पण्डित तोयानाथले जम्मा ४ सियो हलो जोत्नुभएको हो । पहिलो सियो कृषि क्रान्ति, दोश्रो सियो शिक्षा, तेश्रो सियो राजनीति र चौथो सियो समानताका लागि थियो ।’   

पण्डित तोयानाथ अधिकारी पिता पण्डित खगेश्वर अधिकारी, माता कालिका देवीको कोखबाट १९६५ साल असारमा शुक्ल पुर्णिमाका दिन दुराडाँडाको अर्चल्यानीमा जन्मनुभएको हो । उहाँले प्रारम्भिक शिक्षादीक्षा पिताबाटै लिनुभएको थियो ।  

घर गएकी चेली माइती फिर्ता      

ब्राह्मणहरुले हलो जोतेको भनी त्यो समयमा बिहेवारीमा रोक लगाइयो । भात पानी चलाइएन । घर गएकी चेली माइती फिर्ता पठाइयो । 

‘छोरीलाई तोयानाथले तनहुँ ठूलढुंगामा साउने टपरी गाउँकै आइते सार्कीसँग पठाए,’ भानुभक्तले स्मरण गर्नुभयो, ‘त्यो जातीय विभेदका विरुद्ध थियो । तर छोरीको घरमा बुबाले हलो जोतेको थाहा पाएपछि छोरीलाई माइती फिर्ता पठाइयो ।’  

सुन्दरबजार नगरपालिका–४, दुराडाँडाका पण्डित शिवराज भट्टका अनुसार प्रजातन्त्रको उदय हुनुभन्दा अगाडि नै पण्डित तोयानाथले हलो जोत्नुभयो ।  

‘ब्राह्मणले पनि हलो जोत्न हुन्छ’ भन्ने चेतना समाजमा छर्नुभयो । ‘समाजमा सबै  समान हुन्’ भन्ने कुराको जागरण फैलाउन मद्धत गर्नुभयो । उहाँको योगदानलाई कसैले भूल्न नहुने उहाँले बताउनुभयो । 

‘हलो जोतेर तोयानाथले सबैलाई फुकुवा त गर्नुभयो,’ भट्टले दुःखेसो पोख्नुभयो, ‘तर अहिले खेतीयोग्य जमिन बाँझै छन् । मान्छे सबै शहरतर्फ लागेका छन् । गाउँघर रित्तिदैँ छन् । जमिनहरु बाँझै भएका छन् ।’

संरक्षण आवश्यक   

ऐतिहासिक हलोक्रान्ति स्थल बाटेगरामा हाल तोयानाथ स्मृति बाटिका बनाईएको हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानका सचिव दीपक पौडेलले बताउनुभयो । उहाँका अनुसार ऐतिहासिक स्थल बाटेगरामा सिरु फुलेर गएको छ । बाटेगरामा बेलाउती, निबुवालगायतका फलफुल लगाइएको छ । हलोक्रान्ति स्थलको खासै संरक्षण÷संवद्र्धन हुन नसकेको जानकारहरु बताउँछन् ।       

‘अहिले ३ लाख ७४ हजार खर्चेर एउटा ट्रष्ट निर्माण गरिएको छ । उहाँले भन्नुभयो, ‘ऐतिहासिकि स्थल बाटेगराका नयाँ पुस्तालाई देखाउनु आवश्यक छ ।’ हलोक्रान्ति स्थलमा पण्डित तोयानाथले अन्य ब्राह्मणको साथमा हलो जोत्दै गरेको शालिक निर्माण गरी तारबार गर्न सके यसलाई ऐतिहासिक पर्यटकीय स्थलको रुपमा अघि बढाउन सकिने उहाँको तर्क छ । 

सम्झनामा हलोक्रान्तिका अभियन्ता   

उहाँका अनुसार २०६४ सालमा स्थापना भएको हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठान सम्बन्धित सबैको साथ÷सहयोगमा हलोक्रान्ति स्थलको संरक्षण÷संवद्र्धनमा लागि परेको छ । हलोक्रान्तिका अभियन्ताहरु सम्भवतः सबै स्वर्गे भैसके । तर उनीहरुको योगदान भने स्मरणीय छ । अझै अनुकरणीय छ ।

सचिव पौडेलका अनुसार आज ६९ औँ हलोक्रान्ति दिवस स्थानीय किसानलाई सम्मान गर्नुका साथै ‘हलोक्रान्ति’का विषयक कविता वाचन र विचार गोष्ठीको आयोजना गरी मनाइँदैछ ।
 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया