काम सपार्न नखोज्नेहरूको जमघटमा गफ : त्यसैले देश बिग्रियो !
मंसिर ९, २०८१ आइतबार
मध्यरातमा साथीले अतालिदै फोन गरिन्, ‘दाइलाई ज्वरो आएर असाध्यै गाह्रो भएको रहेछ । के गर्ने होला ?’ भारतमा रहेका उनका दाजुलाई यसै गर्ने भन्ने उपाय मसँग थिएन । अहिलेको परिस्थितिमा ज्वरो आउने कुरा सामान्य अवस्थामाझैँ गरी हल्का रुपमा लिन पनि नसकिने । हत्तपत्त नअतालिने उनको छटपटीले म पनि भित्रभित्रै डराएँ । आत्तिदै फोन गरेकी साथीलाई मेरो जवाफ थियो, ‘जाँच गर्न जानु भन न ।’
दाजुको अप्ठ्यारो अवस्था मलाई बुझाउँदै उनले भनिन्, ‘कसले जँचाउन लैजान्छ ? यस्तो बेलामा ज्वरो आएको भन्ने कुरा उहाँको मालिकलाई थाहा भयो भने कामबाटै निकालिदिन्छ । बिमारी देखाउन पनि मिल्ने छैन । सहन सक्ने पनि छैन । मैले त केही सोच्नै सकिनँ ।’
उनको छटपटी आँसुमा परिणत भइसकेको थियो । मैले नआत्तिन आग्रह गर्दै भारतीय दूतावासका वेभसाइटहरु हेर्न र त्यहाँबाट सहयोग लिन सकिने कुनै माध्ययम होला की भनेँ । उज्यालो भएपछि जे गर्न सकिन्छ गरौँला भनेर उनलाई सान्त्वना दिँदै म निदाएँ ।
मान्छेलाई जतिबेलासम्म आफूलाई पर्दैन, त्यतिबेलासम्म अरुलाई सैद्धान्तिक सल्लाह दिन धेरै सजिलो हुन्छ । तर जतिबेला आफूलाई समस्या पर्छ त्यतिबेला छटपटीले कहाँ छोड्छ र ? साथीसँग मध्यरातको १३ मिनेटको कुराकानीपछि म निदाएँ । तर मेरो मेसेन्जर उनै साथीको अफलाइन मेसेजले भरिएको थियो । दाजुको चिन्ताले आमा, भाउजु र भाइबहिनीहरुलाई निकै समस्या परेको कुरा उनले पोखेकी थिइन् ।
समस्यासँगै उनले रातभरिमा समाधान पनि सोचिछिन् । तिनै साथीको भारतमा बस्ने एक जना साथीले उनको उपचारको चाँजो मिलाएको उनले बताइन् । साथीको समस्या त समाधान भयो । तर उनको दाजुको बाध्यताले मलाई पिरोलिरह्यो । आफ्नो समस्याबारे बताउँदा कामबाट निकालिने त्रास । नबताउँदा ज्यानै जाने खतरा ।
भारतमा कोराना सङ्क्रमणले ज्यान जानेहरुको सङ्ख्या जति बढ्छ उति नै यता उनका आफन्तको मुटु धड्किन्छ । दुवै देशका सरकारले कहिले लकडाउन खोल्लान् र आफ्नै ठाउँमा श्रम गरेर बसौँला भन्ने छटपटी दाजुको रहेको साथीले सुनाइन् ।
मेरो एक जना दाइ मलेसियाको पेनाङ राज्यमा सेक्युरिटी गार्डको काम गर्नुहुन्छ । तीन वर्षको उहाँको श्रम अवधि सकिन १० महिना बाँकी छ । कार्यरत कम्पनीले तलब सुविधा कटौती गर्ने भन्ने जानकारी पाउनुभएको उहाँको बोलीबाट स्पष्टै झल्किन्छ । तथापि शब्दमा व्यक्त गर्नुहुन्न । ‘डराउनुभएको त छैन नि ?’ भन्ने मेरो प्रश्नमा खिस्स हाँस्दै उहाँको जवाफ फर्किन्छ, । उहाँलाई आफ्नोभन्दा पनि घरमा रहेकी श्रीमती र छोरीको चिन्ता कसरी कम गर्ने भन्ने छ ।
परदेशमा आफ्नो डर त छँदैछ । नेपालमा रहेका श्रीमती र छोराछोरीले लिएको चिन्ताले उहाँलाई नराम्रोसँग पिरोलेको छ । दुबई र कतारलगायतका देशमा वर्षौ बिताइसक्नुभएका उहाँले यसपछि विदेश जानेबारे सोच्दा पनि नसोच्ने बताउनुभयो ।
धनगढीका अनमोल थापा साउदीमा हुनुहुन्छ । उहाँले दुबई, कतार र मलेसियामा श्रम गरेको ८ वर्ष भयो । साउदी जानुभएको पनि वर्ष दिन बित्यो । उहाँ जति पटक जुन जुन देश गएपनि सोचेजति आम्दानी गर्न सक्नुभएको छैन । आफ्नो समस्या लिएर सम्बन्धित देशका दूतावासहरुमा पटक पटक धाइसक्नुभएका थापालाई अहिलेको अवस्थाले निकै निरास बनाएको छ ।
कम्पनी बन्द भएको १९ दिन बित्यो उहाँलाई खानाको जोहो गर्न बिस्तारै समस्या हुँदैछ । फुर्सदिलो १९ दिनमा थापाले विदेश आउनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको मनन गरेको सुनाउनुभयो ।
नेपालबाट हरेक वर्ष ४ लाख ५० हजार नागरिक रोजगारीको खोजीमा श्रम बजारमा आउने गरेको सरकारको तथ्याङ्क छ । सरकारले २०५० सालदेखि वैदेशिक रोजगारमा जानेहरुको तथ्याङ्क सङ्कलन गर्न थालेदेखिको सङ्ख्या हेर्ने हो भने हाल ५० लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । सरकारले केही समयदेखि मात्रै विदेशबाट फर्किएकाहरुको तथ्याङ्क राख्न सुरु गरेको छ ।
करिब ३० देखि ३५ लाख नेपाली अझै रोजगारीको सिलसिलामा विदेशमा रहेको विज्ञहरु बताउँछन् । अहिले नेपालमा सरकारले लकडाउन गरेको छ । स्थानीय सरकारहरुले वैदेशिक रोजगारबाट फर्किएकाहरुलाई क्वरेण्टीनमा राख्ने गरेका छन् । बाध्यताले वैदेशिक रोजगारीलाई विकल्प बनाएकाहरुलाई समाजले हेर्ने दृष्टिकोण एकदमै नकारात्मक छ ।
वैदेशिक रोजगारीबाट फर्किएकाहरुको नाम सार्वजनिक गर्नुपर्छ कि पर्दैन भन्ने छलफलमा एक जना पत्रकारले विदेशबाट आएका व्यक्ति लुकेर नबसे उनीहरुलाई ज्यान जोगाउनै हम्मे पर्ने अवस्था रहेको बाध्यता सुनाउनुभयो ।
अहिलेको अवस्था सामान्य भएपश्चात् वैदेशिक रोजगारीमा मानिसको चासो घट्ने अनुमान धेरैले गरिरहेका छन् । अहिलेको अवस्थामा आफ्नो नागरिकलाई राहत उपलब्ध गराउन र आफ्नो गाउँठाउँमा फर्काउन स्थानीय जनप्रतिनिधिहरु निकै गम्भीर र जिम्मेवार देखिएका छन् ।
लकडाउनको उल्लङ्घन हुन नदिनेमा उनीहरु सबैभन्दा बढी चिन्तित देखिएका छन् । तर तीनै तहका सरकारले अवस्था सामान्य भएपश्चात् पनि एउटा यस्तो लकडाउन गर्न आवश्यक छ कि नेपाली युवा वैदेशिक रोगजारीमा जान नपाओस् । त्यसको लागि हरेक स्थानीय सरकारले आफ्ना नागरिकको रोजगारी र पेशाव्यवसायको ग्यारेन्टी गर्न अति आवश्यक छ ।
प्रदेश र केन्द्र सरकारले पनि आफनो प्रदेश र देशका सबै युवालाई आफ्नै ठाउँमा आम्दानीका बाटाहरु खोल्ने कुरा सुनिश्चित गर्नुपर्छ । यो अवस्था सामान्य भएपछि धेरै युवाहरु आफ्नै देशमा श्रम गर्ने जाँगर बोकेर नेपाल फर्कने छन् । उनीहरुलाई फेरि विदेश जान नपर्नेगरी सधैँको लागि लकडाउन गर सरकार !
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सुरक्षित वैदेशिक रोजगारको क्षेत्रमा काम गर्नुहुन्छ ।