उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन अनन्तले विदेशी लगानीकर्तासँग मिलेर जलविद्युतमा लगानी गर्न स्वदेशी लगानीकर्तालाई आग्रह गर्नुभएको छ ।
मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्ने उल्लेख गर्नुभयो ।
‘जलविद्युतको क्षेत्रमा लाग्नुभएका स्वदेशी लगानीकर्तालाई मेरो यो आग्रह छ कि तपाईँहरु विदेशी लगानीकर्तासँग मिलेर काम गर्नुस्’, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को नवनिर्वाचित कार्य समितिलाई बधाई दिन मन्त्रालयमा भएको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, ‘विदेशी लगानीकर्तासँग काम गर्दा क्षमताको आदानप्रदान, प्रविधिको आदानप्रदान र अनुभवको आदानप्रदान हुन्छ ।’
मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत् क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्नुभयो । उहाँले निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार रहेको दोहोर्याउनुभयाे । निजी क्षेत्रका सबै आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले खरिद सम्झौता (पीपीए) मार्फत खरिद गर्ने प्रतिबद्धता मन्त्री पुनको थियो ।
‘तपाईँहरु विद्युत् उत्पादन गर्नुस् । सरकार विद्युत् किन्न र आन्तरिक तथा बाह्य बजारको व्यवस्था गर्न तयार छ’, उहाँले भन्नुभयो ।
मन्त्री पुनले कोभिड–१९ महामारीका कारण अधिकांश विकास आयोजनाको निर्माण कार्य ठप्प हुँदा पनि जलविद्युत् आयोजना निर्माणका काम गरिरहन मन्त्रालयले सहजीकरण गरेको स्मरण गर्नुभयो । यस्तै कोभिड महामारीकै बीच पनि निजी क्षेत्रबाट उत्पादित बिजुलीको भुक्तानी नरोकिएको उहाँले बताउनुभयो ।
मन्त्री पुनले आफू मन्त्री भएर आएपछि सस्तो लोकप्रियताका लागि नबोलेको बताउनुभयो । ‘म अर्थ मन्त्री पनि भइसकेका कारण आर्थिक वा नीतिगत कारणले असम्भव कुरा बोल्दिन, जे बोलेको छु, त्यो पूरा गरेको छु’, उहाँले भन्नुभयो, ‘सस्तो लोकप्रियताका लागि बोल्ने गर्दिन, त्यस्तो लोकप्रियता दिगो हुँदैन ।’
विगतमा लोडसेडिङ अन्त्य गर्ने ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणको एकमात्र लक्ष्य भए पनि अब ऊर्जामा आत्मनिर्भरतासँगै आन्तरिक र बाह्य बजार व्यवस्थापन गर्नुपर्ने चुनौती थपिएको मन्त्री पुनले बताउनुभयो । आगामी वर्षभित्रै नेपालमा कुल जलविद्युत् क्षमता कम्तीमा २६ सय मेगावाट पुग्ने भन्दै उहाँले मन्त्रीका रुपमा आफ्ना अगाडि बजारको व्यवस्थापन कसरी गर्ने भन्ने चुनौती देखिएको बताउनुभयो ।
इप्पानका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद आचार्यले लगानीकर्ताको सम्मान र संरक्षणमा सरकारको ध्यान जानुपर्ने सुझाव दिनुभयो । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजना ३० वर्षपछि सम्पूर्ण हिसाबले सरकारको हुने भएकाले पनि आफूहरुको संरक्षणमा सरकार चुक्न नहुने उहाँको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।