१ सय ८० दिनसम्म सरकारको आदेश मान्यौँ, अब मान्दैनौँ : नाडा अध्यक्ष दुलाल

'कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दा बस्दै भोक लाग्ने बेला भइसक्याे'

 भदौ २२, २०७७ सोमबार १९:२९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले भदौ २५ गतेदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ । नाडाको सोमबार बसेको पदाधिकारी बैठकले भदौ २४ गतेसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रुपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो ।  

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले एक सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो । उहाँले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजीकरण गर्नुपर्ने बताउनुभयो । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरण भन्दा पनि पूरै व्यवसाय गर्न पाउने गरी सहजीकरण गरेर अगाडि बढ्नपर्छ । यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन् । यो कसैले पनि मान्ने वाला छैन त्यसकारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठिक हुँदैन, सरकारले बुझ्नुपर्छ ।’

उहाँले सरकारी कर्मचारीहरुले काम नगरे पनि तलब भत्ता आइराख्ने भएकाले कोरोना सङ्क्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गर्नुभयो । व्यवसायी र उद्योगपतिहरु बाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलालले बताउनुभयो । घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञहरुमा रहेको दुलालको भनाइ छ ।

उहाँले भन्नुभयो ‘सुरुदेखि नै हेर्‍याे भने सरकारी कर्मचारीहरुले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन । जति पनि सरकारी कर्मचारीहरुले के भनेका छन् भने बन्द गर्नुपर्छ, कोरोना फैलिन्छ, घरमा बस्नुपर्छ, भनेको छ । किन भने उहाँहरुले तलब बसीबसी पाउनुभएको छ । व्यवसायी, उद्योपति र व्यवसायी बाहेक घरमा बसेर पैसा आउने जति पनि राजनीतिज्ञ छन्, जति पनि नेता छन्, जतिपनि कर्मचारी छन्, सबै बन्द गर्नुपर्छ, कोरोना सर्छ भनेको नै आवाज सुन्छौ ।’

उहाँले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दा बस्दै भोक लाग्ने बेला भइसकेको बताउनुभयो । पछिल्लो समय भारत, पाकिस्तानलगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताउनुभयो । 

लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उहाँले स्पस्ट पार्नुभयो । विश्वलाई हेरेर व्यवसाय सुरु गर्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।  

तस्बिर : दुलालकाे फेसबुकबाट

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया