काभ्रेको भुम्लुमा लालपुर्जाको समस्या रहेका बासिन्दासँग पुनः नि...
मंसिर १०, २०८१ सोमबार
गुल्मी – युवा उमेरदेखि केही उमेर पार गरिसकेका र केही पाका देखिने महिला र पुरुषहरु बीच सम्बन्ध विच्छेदको घटना आजकल सामान्य नै हो । तर ७० वर्षको उमेरमा आएर सम्बन्ध विच्छेद गरेको सुन्दा भने अचम्म लाग्ला ।
गुल्मीमा सम्बन्ध विच्छेदको यस्तै एउटा घटना घटेको छ । ६९ र ७२ वर्ष उमेर पार गर्न लागेका एक वृद्ध दम्पतीले सम्बन्ध विच्छेद गरेका छन् । गुल्मी दरबार गाउँपालिका-४ वीरबार भट्टेचौर निवासी दुई वृद्ध दम्पतीले गुल्मी जिल्ला अदालतमा शुक्रबार कानूनी रुपमा सम्बन्ध विच्छेद गरेका छन् ।
शुक्रबार अपरान्ह अदालत परिसरमा भेटिएका ती दम्पती आफ्ना छोराछोरी र नातिनातीनाहरुसँगै सम्बन्ध बिच्छेदका लागि आएका थिए । कतिबेला सम्बन्ध बिच्छेद होला र कानुनी रुपमा अलग भएर बाँकी जीवन शान्तसँग गुजारौंला भन्ने प्रतिक्षामा हुनुहुन्थ्याे बाटुली पनि ।
७२ वर्षका श्रीमान तीलबहादुर विश्वकर्मा र ६९ वर्षकी श्रीमती बाटुली विश्वकर्मा अन्ततः शुक्रबारदेखि कानुनी रुपमै छुट्टिएका छन् । मुद्दाको प्रक्रिया टुंगिएपछि औपचारिक रुपमै दुवै जना अलग-अलग बनेका हुन् ।
‘बुवाआमा दुवैको सहमति अनुसार सम्बन्ध विच्छेद भएको हो’ तीलबहादुरका माइला छाेरा देवेन्द्र विश्वकर्माले भन्नुभयो ।
आफ्ना पहिलेका श्रीमानकाे निधनपछि बाटुलीले २०५२ सालमा दोस्रो विहेको रुपमा तीलबहादुरसँग विहे गर्नुभएको हो । बाटुलीका ६ जना छोरीहरु छन् । उनीहरु सबैको विहे समेत भैसको छ । पछिल्ला श्रीमान तिल बहादुरका हाल एक श्रीमती सहित ६ भाइ छोरा र एक छोरी छन् । तीलबहादुरसँग विहे गरेपछि बाटुलीको कोखबाट जन्मेकी एक छोरी पनि २६ वर्षकी भैसकेकी छन् । तीलबहादुर यतिबेला जेठी श्रीमती खगिश्वरा विकसँग बस्दै आएउनुभएकाे छ भने बाटुली आफ्नी कान्छी छोरीसँगै पहिलेका श्रीमानको घरमा हुनुहुन्छ ।
बाटुलीका श्रीमान तीलबहादुरले छोरीहरु सबैको विहे भइसकेका कारण अब बाटुलीलाई घरमै ल्याएर सँगै बसाउन चाहन्थे भने छोरीहरु आमालाई अलग बनाएर राख्नु भन्दा त्यहीँ बस्दै आएको घरमा नै राख्न चाहन्थे । त्यसै कारण बाटुलीलाई जेठी श्रीमतीसँग रहेका श्रीमानसँग गएर बस्नु भन्दा छोरीहरुसँगै त्यही घरमा बस्न ठीक लाग्यो ।
त्यही साेचका कारण उनी छोरीहरुको सल्लाह अनुसार कानूनी रुपमै अलग रहेर बस्ने निधो गरी सम्बन्ध विच्छेदका लागि अदालत पुग्नुभयो ।
‘बुढेशकालमा छोडपत्र दिएर बस्दा कस्तो हुनेरहेछ भनेर रहर लागेर आएकी हुँ’ ठट्टाको स्वरमा उहाँले हाँस्दै भन्नुभयो, ‘दुईचार वर्ष बाँच्दा किन सधैँभरि झगडा र कचकच गरेर बस्ने ? कान सुन्दैनन् एउटा भन्दा अर्को सुन्ने र झगडा गर्ने बानी छ, त्यही भएर म जान्न बरु डिभोर्स गर्छु भनेकी हुँ ।’
गुल्मीमा सम्बन्ध विच्छेदका घटना दिनानुदिन बढ्दै गएका छन् । तर गुल्मी जिल्ला अदालतमा ७२ वर्षको उमेरमा सम्बन्ध विच्छेदको घटना भने यो पहिलो हो ।
‘यस अघि ५५ वर्षसम्मका जोडीहरुबीच सम्बन्ध विच्छेद भएको जानकारी पाएको छु, अदालतमा धेरै सम्बन्ध विच्छेदका मुद्दाहरु आउने गर्दछन् तर संभवतः ७२ वर्ष उमेरमा भएको सम्बन्ध विच्छेदको यो नै पहिलो घटना हो’ , गुल्मी जिल्ला अदालतका तहसिलदार दिपेन्द्र कुमार तिवारीले भन्नुभयो । गुल्मी जिल्ला अदालतमा यस आर्थिक वर्ष २०७७/७८ मा ५४ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भैसकेका छन् । दर्ता भएका मुद्दाहरु मध्ये २६ वटा फर्स्याैट भैसकेका छन् भने बाँकी २८ वटा फर्स्याैट गर्न बाँकी रहेको तहसिलदार तिवारीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।