प्राविधिक कारणले बत्ती जान्छ, लोडसेडिङ भन्न मिल्दैन : विद्युत प्राधिकरण

 पुष १२, २०७७ आइतबार १२:१८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - पछिल्लो समय काठमाण्डौलगायत विभिन्न सहरमा दैनिकजसो झ्याप्प, झ्याप्प बिजुली जान थालेको छ । 

विद्युत प्राधिकरणको लापरबाहीले लोडसेडिङ सुरु भएको भन्दै नागरिकको गुनासो बढेको छ । तर, जाडो सुरु भएसँगै नेपालमा विद्युत खपत पनि बढ्दै गएका कारण उपकरणले धान्न नसक्दा केही ठाउँमा बिजुली गएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत प्रवक्ता मदन तिमिल्सिनाले विद्युत् माग बढ्दा प्रणालीमै ओभर लोड भएर केही प्राविधिक समस्या देखिएको र यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकमा एउटा मनोवैज्ञानिक भ्रम छ, यसलाई लोडसेडिङ भन्न मिल्दैन, हामी अहिले ट्रान्सफर्मरलगायतका उपकरणको मर्मत र सुधारकोे काम गरिरहेका छौँ ’।

प्राधिकरणका अनुसार अस्ति शुक्रबार यो वर्षकै सबैभन्दा बढी विद्युत खपत भएको छ । त्यसदिन २ करोड ५१ लाख युनिट विद्युत खपत भएको प्राधिकरणका प्रवक्ता मदन तिमिल्सिनाले बताउनुभयो । अघिल्लो वर्षको पुष १० गते अर्थात् यहीदिन २ करोड ३३ लाख युनिट विद्युत खपत भएको थियो । अहिले नेपालमा विद्युत उत्पादनको क्षमता १३ सय ६२ मेगावाट छ । 

तर नेपालका धेरैजसो जलविद्युत आयोजना रन अफ दि रिभर अर्थात् बगिरहेको नदी प्रणालीमा आधारित रहेकाले हिउँदको समयमा कुल क्षमताको आधा पनि विद्युत उत्पादन हुँदैन । तर वर्खाको समयमा भने नेपालमा उत्पादित बिजुली धेरै हुन थालेको छ । 

हिउँदको समयमा नेपालको उत्पादन क्षमताले माग धान्न नसकेपछि प्राधिकरणले भारतबाट समेत विद्युत खरिद गर्ने गरेको छ । अहिले ५ सय २० मेगावाट प्राधिकरणबाट, निजी क्षेत्रबाट ३ सय २० मेगावाट र बाँकी भारतबाट खरिद गरेर माग धान्ने गरिएको छ । 

प्राधिकरणले यो वर्ष पनि भारतबाट २ सय ५० सय मेगावाटसम्म बिजुली ल्याउनको लागि सम्झौता नवीकरण गरिसकेको छ । 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया