पहिले खेतकाे पानी पिउनु पर्थ्याे, अहिले घरमै धारा पुगेपछि करेसाबारी पनि हराभरा

 माघ १२, २०७७ सोमबार १९:४५:१५ | उषा तामाङ
unn.prixa.net

दोलखा – दोलखाको कालीञ्चोक गाउँपालिका ८ सुनखानीको मलेपु गाउँ, जहाँ माझी समुदायको बाक्लो बसोबास छ । यो बस्तीभन्दा केही तलबाट तामाकोशी नदी बगे पनि पिउने पानीका लागि आधा घण्टा बढी हिँडेर छिमेकीसँग झगडा गर्दै एक गाग्रो पानी लिएर आउनु पर्थ्याे ।  

पानीको मूल भए पनि गाउँसम्म ल्याइदिने कोही थिएनन् तर अहिले सामुदायिक विकास मञ्च नेपाल दोलखाले क्रिश्चियन एड नेपालसँगको सहकार्यमा घरको आँगनमै पानीको धारा पुर्‍याएपछि माझी समुदायका ३२ घरधुरी दङ्ग परेका छन् । उपभोक्ता समितिको तर्फबाट १५ प्रतिशतसमेत गरि कुल १६ लाख नौ हजार सात सय ५१ रुपैयाँ लागतमा ३२ घरमा पानी पुगेको छ ।

कल्लेरी देउथली खानेपानी तथा सरसफाइ आयोजनाकी कोषाध्यक्षसमेत रहनुभएकी कल्पना माझी खेतको पानी पिउनुपर्ने अवस्था अन्त्य भएको बताउनुहुन्छ । ‘पहिले हामी खेतको पानी पिउँथ्यौँ, त्यही पनि गाग्री फालाफाल गर्नुपर्ने अवस्था आउँथ्यो । अब त ढुक्क छाैँ’, कल्पनाले भन्नुभयो । 

माझी बस्तीभन्दा केहीमाथि श्रेष्ठ, थामी र बादी समुदायको बसोबास छ तर समस्या माझी बस्तीकै जस्तो थियो । अहिले त्यहाँका ६२ घरधुरीमा आँगनमै धारो छ । कालीञ्चोक गाउँपालिकाको तीन लाख, दुई लाख ५६ हजार पाँच सय ८६ श्रमदान र सामुदायिक विकास मञ्चको १६ लाख ३९ हजार ६ सय ४४ गरि कुल २१ लाख ९६ हजार दुई सय ३० रुपैयाँ लागतमा मलेपु खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न गरिएको छ । ‘पिछडिएको समुदायको बसोबास रहेको बस्तीमा घरघरमा धारा कल्पना नै गरिएको थिएन’, स्थानीयवासी कमला बादीले भन्नुभयो, ‘घरमा धारा भएपछि करेसाबारी हराभरा भएका छन् ।’ 

सुनखानीकै भीमसेनटोल छहरा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २८ घरधुरीलाई खानेपानी वितरण गरिएको छ । कालीञ्चोक गाउँपालिकाको दुई लाख ३० हजार आठ सय ४९, सामुदायिक विकास मञ्चको आठ लाख सात हजार सात सय ५१, उपभोक्ता श्रमदान दुई लाख ६३ हजार ६ सय ५६ गरि कुल १३ लाख दुई हजार दुई सय ५६ रुपैयाँको लागतमा खानेपानी घरको आँगनमा पुगेको स्थानीयवासी चेतबहादुर माझीले बताउनुभयो । त्यहाँका स्थानीयवासीले धारोसमेत कलात्मक बनाएका छन् । 

तीन वटै आयोजनाको मर्मत सम्भारका लागि मर्मत सम्भार कोष खडा गरिएको छ भने पानी हेरालुको व्यवस्था पनि गरिएको छ । धारासँगै मिटर पनि जडान गरिएकाले आफूले प्रयोग गरेको पानीअनुसारको रकम उपभोक्ताले मासिक रुपमा तिर्ने सहमति भएको छ ।  

कालीञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठकले वर्षाैँदेखि पिउने पानीको सुविधाबाट वञ्चित बादी र माझी बस्तीमा पानी पुग्दा हर्षित भएको बताउनुभयो । कालीञ्चोक गाउँपालिकाको एक घर एक धारा करेसाबारी हराभरा भन्ने नारा कार्यान्वयन भइरहेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो ।   

अन्तिम अपडेट: पुस २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया