प्रधानमन्त्री आफै विराेधमा उत्रने अनाैठाे कुरा नेपालमा देखियाे : प्रचण्ड

‘संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वास छ’

 माघ २७, २०७७ मंगलबार १८:३६:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पमकल दाहालले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सदर भएको खण्डमा नेपाल ठूलो राजनीतिक भुमरीमा फस्ने बताउनुभएको छ । 

नेपालबाट अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका लागि काम गर्दै आएका पत्रकारहरूसँग मङ्गलबार काठमाण्डौमा भएको भेटमा अध्यक्ष दाहालले बाहिर सुन्नमा आएजस्तै सेटिङअनुसार नै निर्वाचन आयोग र सर्वोच्च अदालतको निर्णय आयो भने देश ठूलो राजनीतिक भुमरीमा फस्ने चेतावनी दिनुभएको हो । यद्यपि आफूहरू संविधानको अक्षर र भावनाअनुसार नै न्यायालयबाट निर्णय आउनेमा विश्वस्त रहेको उहाँले स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री ओलीले संविधानभन्दा बाहिर गएर गरेको निर्णयलाई सर्वोच्चले सदर गर्छ जस्तो नलागेको उल्लेख गर्दै उहाँले त्यसो भयो भने आफूहरूले गम्भीर रूपमा विचार गर्नुपर्ने अवस्था सिर्जना हुने बताउनुभयो । उहाँले असंवैधानिक र अलोकतान्त्रिक कदमअनुसारको चुनाव पनि अलोकतान्त्रिक र असंवैधानिक नै हुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यदि प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, निरङ्कुश र स्वच्छेचारी कदमलाई सदर गरियो भने देश निकै ठूलो राजनीतिक भुमरीमा पर्छ । संवैधानिक र अलोकतान्त्रिक ढङ्गले संविधान मिचिइसकेपछि त्यसको मातहतमा आयोजना हुने चुनाव पनि असंवैधानिक र अवैधानिक नै हुन्छ । यदि प्रधानमन्त्रीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई जे भन्यो त्यही मान्ने मान्छे ठान्नुभएको छ भने निकै ठूलो भ्रम हो भन्ने हाम्रो भनाइ छ । यदि सेटिङ नै भए जसरी निर्णय भयो भने हामी गम्भीर ढङ्गले सोच्छौँ । त्यो चुनावलाई हामीले सहज ढङ्गले लिन सक्ने स्थिति हुँदैन । नैतिक रूपले अनि राजनीतिक रूपमा निकै ठूलो प्रश्न खडा हुन्छ । हामी चुनाव विरोधी होइनौँ र हुन सक्दैनौँ तर असंवैधानिक र अलोकतान्त्रिक तरिकाले जबरजस्ती भनियो भने त्यो अवैधानिक, असंवैधानिक र अलोकतान्त्रिक चुनावका बारेमा हामीले गम्भीर रूपमा विचार गर्नुपर्ने नै हुन्छ ।’ 

अध्यक्ष दाहालले प्रधानमन्त्री ओली आफैले प्रतिगमन गरेर आफै प्रतिगमनका विरुद्ध सभा आयोजना गर्नु आश्चर्यजनक रहेको टिप्पणी गर्नुभयो । उहाँले सरकारको संविधान विरोधी कदमविरुद्ध आफूहरू संघर्षमा लाग्नु स्वभाविक भए पनि सरकार पक्षले नै सभा गरेर तेस्रो जनआन्दोलन सुरु भयो भन्नु लोकतन्त्रविरुद्धको उपहास भएको बताउनुभयो । नेता दाहालले प्रधानमन्त्री ओलीले राज्यशक्तिको दुरुपयोग र प्रतिस्पर्धामा उत्रिएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री आफैले सभा गर्ने र ती सभाबाट तेस्रो जनआन्दोलन सुरु भयो भनेर प्रधानमन्त्री नजिकका मान्छेहरूले सभामा बोल्ने, प्रतिगमन विरोधी तेस्रो जनआन्दोलन भन्ने । यो अनौठो कुरा नेपालमा देखियो । सायद पहिलो पटक देखियो प्रधानमन्त्री आफै विरोधमा उत्रने । केको विरोधमा हो ? यो अनौठो, अस्वाभाविक छ । यो लोकतन्त्रविरुद्धको उपहास जस्तो लाग्छ । एउटा प्रहसन जस्तो लाग्छ । हामी प्रतिस्पर्धामा होइनौँ । छटपटिएको चाहिँ प्रधानमन्त्री हो । उहाँ आत्तिनुभएको छ । अहिले उहाँ विक्षिप्त भएको जस्तो हामीले महसुस गरेका छौँ ।’ 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Dipen

    Feb. 10, 2021, 1:47 a.m.

    सेटिङ भनेको त प्रचण्ड ले छोरी जिताउन मतपत्र च्यातेर पुनः निर्वाचन गरेकोलाई भन्छ । अरू सेटिङ को बारेमा त जनतालाई खासै जानकारी छैन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया