एकता बलियाे बनाउन सक्याैँ भने कांग्रेसलाई कसैले हराउन सक्दैन : शशाङ्क काेइराला

 फागुन ३, २०७७ सोमबार १८:१५:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले नेपाली कांग्रेसजनबीच एकता हुनुपर्नेमा जोड दिनुभएको छ । देशकाे सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीको हैसियतमा आपसी मिलापबाटै अघि बढ्नु अहिलेको आवश्यकता रहेको नेता काेइरालाले बताउनुभयो ।

नेपाली कांग्रेस दाङले सोमबार घोराहीमा आयोजना गरेको विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गर्दै उहाँले नेपाली कांग्रेसबीच मिलाप भएमा दुनियाँको कुनै पनि ताकतले हराउन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच सकारात्मक एकताको खाँचो छ, एकता बलियो बनाउन सक्यौँ भने हामीलाई कसैले हराउन सक्दैन ।’

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका महामन्त्री कोइरालाले देश अहिले राजनीतिक सङ्कटमा परेकाले देशको रक्षा र लोकतन्त्र बचाउन कांग्रेस अझ गम्भीर रूपमा जनतामाझ जान आवश्यक भएको बताउनुभयो । वर्तमान सरकारले चालेको असंवैधानिक तथा अलोकतान्त्रिक कदमका बारेमा जानकारी गराउनु र नागरिकलाई पार्टीको धारणा स्पष्ट पार्नका लागि कांग्रेस अहिले देशभर सक्रिय भएको उहाँकाे भनाइ छ । 

उहाँले विगतका पुराना योजना पनि वर्तमान केपी शर्मा ओलीको सरकारले प्राथमिकतामा राखेर काम गर्न नसकेको भन्दै नयाँ कामले पनि गति लिन नसक्नु देशकै लागि बिडम्बना भएको बताउनुभयो । नागरिकले राम्रो अवसर दिएर सरकार सञ्चालन गर्न पठाए पनि पाएको अवसरबाट कम्युनिस्ट सरकार चुकेको नेता काेइरालfले बताउनुभयो । देश र नागरिकलाई प्राथमिकतामा राखेर काम नगर्दा देश डुबाउने खेलमात्रै भएको उहाँको आरोप थियो ।

जिल्लाको विकासमा दाङमा कांग्रेसको भूमिका राम्रो रहेको उल्लेख गर्दै उहाँले अब फेरि पनि देशलाई विकास र सुशासनको गति दिन कांग्रेस अगाडि आउनुपर्ने बेला आएको र यसमा नागरिकले साथ दिनुपर्ने बताउनुभयो । 

कार्यक्रममा महामन्त्री काेइरालाले नेपाली कांग्रेसको आउँदाे १४ औँ महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको बताउनुभएको छ । वर्तमान नेतृत्वबाट अब पार्टी चल्न नसक्ने भन्दै आफू नेतृत्वमा आएर पार्टी र देश विकासमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले संविधान देशकाे आत्मा र शरीर रहेकाले यसलाई अङ्गभङ्ग गर्ने अधिकार कसैलाई पनि नरहेको उल्लेख गर्नुभयो ।

अहिले नागरिकलाई दिग्भ्रमित गर्ने काममा केपी सरकार उद्यत रहेको बताउँदै गिरीले यसबाट सचेत रहन आम नागरिकलाई अपिल गर्नुभयो । उहाँले जनमत र जनआवाजबाट संविधान रक्षा गरी छाड्ने सङ्कल्पमा कांग्रेस रहेको जिकिर गर्नुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया