धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले ओली सरकारले दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले प्रतिनिधि सभाको विघटनपछि कामचलाउ बनेको ओली सरकारले कानुन विपरीत दमनकारी क्रियाकलाप गरिराखेको बताउनुभएको हो । यस्तो कदम केही समयका लागि निर्लज्ज दमनकारी अभिव्यक्ति मात्रै हुने पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र सरकारले आफैले प्रतिनिधि सभा विघटन गरिसकेपछि स्वतः कामचलाउ सरकारमा परिणत भएको छ । त्यसको विपरीत गैर–कानुनी ढङ्गले ज्यादतीपूर्ण, बलमिच्याइँ, दमनकारी क्रियाकलाप गरिराखेको छ । यो केही समयको एउटा दमनकारी अभिव्यक्ति मात्रै हो, आचरण मात्रै हो ।’
प्रवक्ता श्रेष्ठले समाजवाद उन्मुख समावेशी लोकतन्त्र र त्यसलाई संस्थागत गरेको संविधानको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको र कुनै पनि हालतमा रक्षा गरी छाड्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी संविधान र लोकतन्त्रको रक्षा गर्दै यस प्रकारको दमनकारी क्रियाकलापलाई पूरै बन्द गर्दै र नेपालमा फेरि सामाजिक, आर्थिक रुपान्तरणको एउटा प्रक्रिया अगाडि बढाउन दृढ छौँ ।’
निर्वाचन आयोगले पार्टीको आधिकारिता दिन ढिलाइ गरेकोप्रति आफूहरू सन्तुष्ट नरहेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो । तर पनि ढिलो/चाँडो संविधान र कानुनअनुसार फैसला गर्ने विश्वास आफूहरूले गरेको उहाँकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले ढिलाइ गरेको कुराप्रति हामी सन्तुष्ट छैनौँ । तर पनि संवैधानिक अङ्गहरू सबैले संविधान र कानुनअनुसार ढिलो/चाँडो सही फैसाला गर्नेछन् भन्ने अपेक्षा गर्दछौँ ।’
शुक्रबार बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरुद्ध पार्टीले गरेको आन्दोलनको समीक्षासमेत गरेको छ । प्रवक्ता श्रेष्ठले आन्दोलनको सङ्घर्षमा सत्तासीन गुटबाहेक सिङ्गो देश एकताबद्ध भएर अगाडि बढिरहेको र सफलताको दिशातिर आन्दोलन बढिरहेको मूल्याङ्कन बैठकले गरेको बताउनुभयो । सर्वोच्च आदालतले पनि संविधानसम्मत ढङ्गले निर्णय गर्ने विश्वास बैठकले गरेको प्रवक्ता श्रेष्ठकाे भनाइ छ । उहाँले भन्नुभयो, ‘छिट्टै सर्वोच्च अदालतले यस सम्बन्धमा विचाराधीन मुद्दाका बारेमा फैसाला गर्ने स्थिति आएको छ र हाम्रो पार्टीको केन्द्रीय कमिटी बैठकले सर्वोच्च अदालतले संविधानसम्मत ढङ्गले संविधान र लोकतन्त्रलाई रक्षा गर्ने गरी निर्णय गर्ने छ भन्ने विश्वास व्यक्त गरेको छ ।’
सडक सङ्घर्षको तीन चरणको कार्यक्रम सम्पन्न भएको र कानुनी लडाइँसमेत लडिरहेको सन्दर्भमा घोषणा गरिएको सडक सङ्घर्षको चौथो चरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सिङ्गो पार्टी परिचालन गर्न निर्देशित गरेको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
यस्तै पार्टी एकीकरणका काम छिट्टै पूरा गर्ने र त्यसअन्तर्गत प्रदेश कमिटीका पदाधिकारीहरूको पूर्ति, जिल्ला कमिटीका पदाधिकारीहरूको पूर्ति र केन्द्रीय निकायको एकीकरणको कामलाई पूरा गर्ने विषय केही दिनभित्रमा पूर्ण गरिने उहाँकाे भनाइ छ । यसका लागि प्रदेश कमिटी र जिल्ला कमिटीले समेत पाएको जिम्मेवारी र अधिकारको बारेमा तुरुन्तै निर्णय गरेर विशेष परिपत्र जारी गरिने जानकारी बैठकमा अध्यक्षद्वयले गराउनुभएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।