एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने प्रचण्ड–नेपाल समूहको निर्णय

 फागुन २४, २०७७ सोमबार १९:२६:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिलेको नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । साेमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो ।

अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् । साेमवार चार घण्टा पेरिसडाँडामा बसेको स्थायी बैठकले सर्वोच्च अदालतको आदेशअनुसार अब पूर्व पार्टीमै फर्कने निर्णय गरेको हो ।

समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाको रूपमा फैसला गर्ने निष्कर्ष निकालेको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘बैठकले सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर गरिएको राजनीतिक फैसलाको रूपमा लिइएको छ । पार्टीको नाम सम्बन्धमा परेको रिट निवेदन हुँदा हुँदै नामको बारेमा निष्कर्ष निकाल्नुपर्ने आदेश गर्नुपर्ने यसको उत्तरदायित्व, जिम्मेवारी हुँदा हुँदै त्योभन्दा बाहिर गएर फैसला गरिएको छ । पार्टीको नामको बारेमा रिट निवेदकको दाबीअनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने थियौँ तर रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर कुनै राजनीतिक पार्टीको एकता गर्ने/नगर्ने र कुनै एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ, त्यसप्रति हाम्रो गम्भीर असहमति छ । यो अस्वाभाविक छ । अनुपयुक्त छ । गलत छ र त्यसैले यो फैसलाप्रति हाम्रो गम्भीर असहमति हामीले राखेका छौँ । यस सन्दर्भमा हामीले राजनीतिक रूपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र त्यसलाई अगाडि बढाउने, कानुनी ढङ्गले पनि उपयुक्त उपचार खोज्ने, सङ्घर्ष गर्ने प्रक्रिया पनि अगाडि बढाउने छौँ ।’

पूर्वएमालेका नेताहरूले अब एमालेमै फर्केर अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सङ्घर्ष गर्ने बताएका छन् ।   

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया