'मैले केपी प्रवृत्तिविरुद्ध जानी बुझी प्रहार गरेकाे हुँ'

 फागुन २७, २०७७ बिहीबार १७:२२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जानी बुझी केपी प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको छ ।

बिहीवार केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमुना स्वास्थ्यकर्मी सङ्घ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिसँग सम्झौता गरे सबै ध्वस्त हुने खतरा देखेपछि जेल जान र मर्न पनि तयार रहेर प्रवृत्तिमाथि प्रहार गरेको बताउनुभएको हो ।  

केपी प्रवृत्तिविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेजस्ताे अनुभूति भएको उहाँको भनाइ छ ।  देशको राजनीतिक परिवर्तनमाथि षड्यन्त्रले हमला गरिराखेको भन्दै उहाँले सजग भएर त्यसविरुद्ध लड्नुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो-‘अहिले देशको परिस्थिति अलिकति जटिल छ । चुनौतीपूर्ण छ । केपी प्रवृत्तिकाविरुद्ध १९ पेजको डकुमेन्ट लेख्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनीको डकुमेन्ट लेखेको जस्ताे अनुभुति भएको छ।’

साथै उहाँले अरूसँग एकीकृत हुँदा आफ्नो साथीहरु छुटेर कमजोर देखिएको भन्दै आउँदो दिनमा पुराना साथीहरुसँग एकताबद्ध गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल चाहिँ कमजोर हुँदा हामी अलि कमजोर भएको जस्तो देखिएको पक्कै हो । अहिले फेरि हामी आफ्नो धरतीसँग जोडिने, आफ्नै खुट्टामा उभिने, आफ्नै पुराना साथीहरुलाई एकताबद्ध गर्ने तयारीमा छाैं । क्रान्तिकारी विचार र साथीहरुमाथि नै भर परेर मात्रै यो लडाइँ जित्छौँ भन्ने विश्वासले मैले नयाँ जनयुद्ध सुरु गरेको हुँ ।’

अध्यक्ष प्रचण्डले राजनीतिक उपलब्धि र आन्दोलनको रक्षाको निम्ति आफूले देशव्यापी अभियान चलाउने समेत बताउनुभयो । दुई/चार वर्ष जनताको बीचमा गएर अभियान सञ्चालन गर्ने उहाँको भनाइ छ ।

 उहाँले उमेरको कारणले आफूपछि नहट्ने पनि बताउनुभयो । अझै पनि क्रान्तिमा अगाडि बढ्ने भन्दै अध्यक्ष प्रचण्डले आफूले क्रान्तिको नेतृत्व नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-‘जनयुद्ध सुरु गर्ने बेलामा म ४२/४३ वर्षको थिएँ । अब अहिले ६६/६७ वर्षको भएँ । कतिपयले अब उमेर भएकाले त छोडिदिनुपर्छ भन्छन् । तर, म छोड्नेवाला छैन । माओत्सेतुङले ७२ वर्षमा सांस्कृतिक क्रान्ति गरेका थिए । म एकचोटी फेरि क्रान्तिमा अगाडि जानेछु ।' 

अध्यक्ष प्रचण्डले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुलाई पार्टीमा उचित ठाउँ दिएर राखिने बताउनुभयो । आउँदाे केन्द्रीय समितिको बैठकले जनयुद्धकालमा काम गरेका स्वास्थ्यकर्मीहरुको बारेमा विशेष निर्णय गर्ने पनि बताउनुभयो ।

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया