प्रधानमन्त्रीज्यू, बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्ति र धम्कीको भाषा हुँदैन : याेगेश भट्टराई

 चैत ३, २०७७ मंगलबार १८:३०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख योगेश भट्टराईले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्कीको भाषा नबोल्न चेतावनी दिनुभएको छ । 

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बुधवार गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाबारे जानकारी दिन मङ्गलवार ललितपुरमा गरिएको पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई शक्ति र धम्की भाषा प्रयोग नगर्न चेतावनी दिनुभएको हो ।

मङ्गलवार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान समारोह गरेर गुटगत भेला गरे कारबाही हुन सक्ने सङ्केत गर्नुभएका प्रधानमन्त्रीलाई भट्टराईले अहङ्कारको भाषा प्रयोग नगर्न सुझाव दिनुभयो । कारबाही गरेर राजनीति अगाडि नबढ्ने भन्दै उहाँले आफूहरू कारबाही भोग्न तयार रहेको बताउनुभयो । अहङ्कारी शैली बढ्दै गए प्रधानमन्त्रीको दुःखमा दुई थोपा आँसु चुहाउने मान्छे पनि फेला पर्न नसक्ने भन्दै उहाँले इतिहासको कठघरामा उभिँदा आइ पर्न सक्ने प्रश्नको उत्तर दिने हिम्मत राखेर अघि बढ्न प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । इतिहासले सोधेका प्रश्नको उत्तर दिन नसकेका बेला प्रधानमन्त्री ओलीलाई इतिहासले कठोर कारबाही गर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘कारबाहीले देश अघि बढ्दैन । राजनीति अगाडि बढ्दैन । पार्टी अगाडि बढ्दैन । यो अहङ्कारपूर्ण अभिव्यक्ति हो । हामीलाई कुनै दुःख छैन । हामी सबै एकपछि अर्को कारबाहीका लागि लामबद्ध छौ । कारबाही खानका लागि तयार छौँ । हामीलाई कुनै पश्चताप छैन । देशका लागि, संविधानका लागि र हामीले प्राप्त गरेको जनसमर्थनका लागि उभिएको मान्छे हो । हामीलाई त्यसमा कुनै हिनताबोध छैन । त्यसैले तपाईँले गर्ने प्रत्येक कारबाहीका लागि हामी लामबद्ध छौँ । जब इतिहासको कठघरामा तपाईँ उभिनुभएको छ, जब इतिहासले सोधेका प्रश्नको तपाईँ उत्तर दिन असमर्थ हुनुहुन्छ, त्यो बेला इतिहासले तपाईँलाई कठोर कारबाही गर्छ । सायद त्यो बेला तपाईँको निम्ति दुई थोपा आँसु चुहाउने मान्छे नहुन पनि सक्ला । त्यसैले धम्कीको भाषा नबोलौँ । संयमताका साथ अगाडि बढौँ मेरो आग्रह छ ।’ 

उहाँले पार्टीको इतिहासतर्फ फर्केर हेर्न र दललाई सुदृढ बनाउने काममा लाग्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभयो । उहाँले भन्नुभयो, ‘म पार्टीको तर्फबाट, सांसदको तर्फबाट अध्यक्षलाई भन्न चाहन्छु, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्ने हो भने यो बारुदको गन्ध नफैलाउनुहोस् । यसले तपाईँलाई दुर्घटनातर्फ लैजान्छ ।’ 

उहाँले बुधवार काठमाण्डौमा हुन लागेको राष्ट्रिय कार्यकर्ता भेलाको प्रमुख आतिथ्यता ग्रहण गर्न प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । देशभरिबाट आएका कार्यकर्ता नेकपा एमालेकै भएको र पार्टी अध्यक्षको हैसियतले आफ्ना कार्यकर्ताको भेलाको प्रमुख आतिथ्यता ग्रहण गरी सम्बोधन गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो भेला तपाईँकै हो । तपाईँ नै प्रमुख अतिथि भएर यो भेलाको उद्घाटन गर्नुहोस् । कसैलाई तपाईँले खटाउनै पर्दैन नजर लगाउन । आफै आउनुहोस् । यो भेलामा को–को आएका छन् देशभरिबाट तपाईँ नै हेर्नुहोस् । प्रमुख आतिथ्यता ग्रहण गर्नुहोस् । उद्घाटन गर्नुहोस् । देशभरिबाट आएका तपाईँकै कार्यकर्ता हुन् । तपाईँकै सदस्य हुन् । के भन्नुहुन्छ उहाँहरूलाई तपाईँले भन्नुहोस् । त्यसको निम्ति म प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु ।’ 

प्रधानमन्त्री ओलीले बालुवाटारमा भएको चियापानमा बुधवारको भेलामा पनि नजर लगाउने अभिव्यक्ति दिनुभएको थियो ।

नेता भट्टराईले आवेग र उत्तेजनामा नआउन प्रधानमन्त्रीलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो बुद्धको देशको हो । बुद्धको देशमा शान्तिको भाषा हुन्छ, शक्तिको भाषा हुँदैन । प्रधानमन्त्रीजी बुद्धको अनुयायी पनि हुनुहुन्छ । बुद्धको अनुयायी पनि भएको प्रधानमन्त्रीलाई म यति मात्रै भन्न चाहन्छु, आज बालुवाटारमा तपाईँको भाषा शक्तिको भाषा छ । म विनम्रताका साथ भन्नु चाहन्छु कि त्यो भाषा बदल्नुहोस् र शान्तिको भाषा बोल्नुहोस् । मेरो सबैभन्दा पहिलो अनुरोध छ ।’ 

नेता भट्टराईले दृढताका साथ राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन देशभरका सबैलाई आग्रह र अपिल गर्नुभयो ।  

अन्तिम अपडेट: माघ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया