यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

 चैत २७, २०७७ शुक्रबार १९:११:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मन्त्रिपरिषद्को बैठकले नेपाल–भारत रेल सेवा सम्झौता २००४ मा संशोधन गर्ने गरी तयार गरिएको लेटर अफ एक्सचेन्जको मस्यौदा स्वीकृत गर्ने र नेपालको तर्फबाट हस्ताक्षर गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । 

विभिन्न मितिमा भएका मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले गृह मन्त्रालयाई २७ जना विदेशी नागरिकले बुझाउनुपर्ने भिसा दस्तुर एवम् विलम्ब शुल्कबापत अमेरिकी डलर चार लाख ७२ हजार तीन सय ६० र जरिबानाबापत १३ लाख ५० हजार मिनाहा दिइ तीन महिनाभित्र नेपाल छाड्न प्रस्थान अनुमति दिने निर्णय गरेकाे बताउनुभयाे ।  

बैठकले वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा पर्वतका डाक्टर किरण पौडेल, सदस्यमा दोलखाका कमला ओली सिवाकोटी, महोत्तरीका शशिकुमार शर्मा, काठमाण्डाैका सुस्मिता ढकाल र कपिलवस्तुका भेषराज ढकाललाई नियुक्त गरेको प्रवक्ता गुरुङले जनाकारी दिनुभयाे ।   

शिक्षा विज्ञान मन्त्रालयको प्रस्तावमा विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले वा नेपाली पाठ्यक्रममा शिक्षा सिकाइ क्रियाकलाप सञ्चालन गर्न चाहनेले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको पठनपाठन सञ्चालन गर्न माग भइ आएमा त्यस्ता विद्यालयलाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन सञ्चालन गर्न सर्त तोकी अनुमति दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको कीर्तिपुरकाे परीक्षा नियन्त्रण कार्यालयको पश्चिमतर्फको गाङ्खेलको ६० रोपनी जग्गामा त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन, अध्यापन तथा तालिमसहित विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र निर्माणका लागि त्रिभुवन विश्वविद्यालयलाई फेरि प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । 

डोल्पाकाे छार्का ताङमोङ गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं. ३ ढाँडगाउँबाट हेरफेर गरी वडा नं. ४ को वाग्मती नगरमा कायम गर्न र बाँकेकाे खजुरा गाउँपालिकाको केन्द्र गाउँपालिका वडा नं. ४ बागेश्वरीबाट हेरफेर गरी वडा नं. ३ को वाग्मती नगरमा कायम गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । 

यस्तै विज्ञापन बोर्डको अध्यक्ष पदमा पनौती नगरपालिका काभ्रेपलाञ्चोकका लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । 

यस्तै ऊर्जा, जलस्रोत था सिँचाइ मन्त्रालयको प्रस्तावमा सिन्धुपाल्चोक जिल्लाकाे पाङ्गताङ्ग सबस्टेशनदेखि बाह्रबीसे सबस्टेशनसम्मको २० किलोमिटर डबल सिर्कत बलेफी–बाह्रबीसे १३२ केभी प्रसारण लाइनको टावरहरू निर्माण गर्न जुगल गाउँपालिका र बाह्रबीसे नगरपालिकामा पर्ने १ दशमलव २७ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय पनि गरेको छ । 

नेपाल–ओमान सरकारबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । 

रामेछापकाे दोरम्बा गाउँपालिकाको नाम हेरफेर गरी दोरम्बा शैलुङ गाउँपालिका कायम गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदको बैठकले गरेको छ ।  

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया