धनगढीमा माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगि...
माघ ३, २०८१ बिहिबार
गोरखा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्ताेलाले आफ्ना नेता तथा कार्यकर्ताविरुद्ध लगाइएका मुद्दा खारेज भएपछि मात्रै सरकारसँग थप छलफल हुने बताउनुभएको छ । आइतवार गोरखामा पत्रकारसँगको भेटघाटमा उहाँले सरकारसँग भएको तीन बुँदे सम्झौताअनुसार आफूहरु भूमिगत गतिविधिबाट बाहिर आएको बताउनुभयो ।
‘सरकारसँग तीन बुँदे समझदारी भएको छ, त्यस समझदारीअनुसार सरकारले हामीमाथि लगाएको प्रतिबन्ध हटाएको छ’, उहाँले भन्नुभयो, ‘अब हाम्रा नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा खारेज हुने क्रममा छन्, त्यो पूरा भएपछि सरकारसँग वार्ता हुन्छ ।’
कानुनी प्रक्रिया पूरा गर्दै नेता तथा कार्यकर्ता रिहाइ हुने क्रम जारी रहेको भन्दै बाँस्ताेलाले सरकारले छिट्टै मुद्दा खारेजीको काम पनि पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । तपाईँहरुले जिम्मा लिएका कतिपय विस्फोटका घटनामा मानवीय क्षतिसमेत भएको छ, त्यस्ता मुद्दा पनि खारेज होला त ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘देशको परिवर्तनका निम्ति लाग्ने क्रममा यी घटना भएका हुन्, त्यसैले राजनीतिक मुद्दा मात्रै होइन सबै प्रकारका मुद्दा खारेज हुनुपर्छ ।’
मुद्दा खारेजीपछि सरकारसँग अहिलेको संसदीय प्रणालीको विकल्पमा छलफल हुने केन्द्रीय सचिवालय सदस्य बाँस्ताेलाले बताउनुभयो । ‘संसदीय प्रणाली अलोकतान्त्रिक छ, यसले जनजीविकालगायत विद्यमान समस्याहरूको हल गर्न सक्दैन’, उहाँले भन्नुभयो, ‘हाम्रो अबको छलफल संसदीय राजनीतिक प्रणालीबाट देशलाई मुक्त गर्ने विषयमै केन्द्रित हुनेछ ।’
कुनै राजनीतिक निकास नदिने भएकाले संसद् विघटन हुनु अनिवार्य जस्तै भएको उहाँले बताउनुभयो । १० वर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्डलाई पनि संसदीय राजनीतिमा फसाइएको केन्द्रीय सचिवालय सदस्य बाँस्ताेलाले बताउनुभयो ।
संसदीय प्रणालीको विकल्पमा वैज्ञानिक समाजवादमा जानेबारे सरकार मात्रै नभइ सबै दलबीच छलफल हुनुपर्नेमा पनि उहाँको जोड छ । ‘देशलाई कस्तो प्रकारको राजनीतिक प्रणाली आवश्यक छ भनेर जनमत सङ्ग्रहमार्फत टुङ्गो लगाउन सकिन्छ तर एक पटक मात्रै होइन निरन्तर यो प्रक्रिया चलाउन पनि सकिन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ ।