लुम्बिनीमा चार सांसद पदमुक्त गरिएकाेप्रति पूर्वराजपा समूह असन्तुष्ट

 वैशाख १६, २०७८ बिहीबार २०:२०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पदमुक्त सांसद केही दिनअघि लुम्बिनी प्रदेश सरकारका मन्त्रीका रूपमा शपथ लिँदै । तस्बिर : उज्यालाे

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले लुम्बिनी प्रदेशमा चार सांसदलाई पदमुक्त गरिएकोप्रति असन्तुष्टि जनाउनुभएको छ । उहाँले जसपाका सांसदहरूलाई आफूले कारबाही नगरेको पत्र लुम्बिनी प्रदेशका सभामुखलाई पठाउनुभएको छ ।

लुम्बिनी प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने निर्णय पार्टीको केन्द्रीय कार्यकारिणी समितिबाट नभएको भन्दै अध्यक्ष ठाकुरले प्रदेश सभामा अर्को पत्र पठाउनुभएको हो ।

ठाकुरले प्रदेश सभामा पठाउनुभएको पत्रमा लुम्बिनी प्रदेश सभा सदस्यलाई केन्द्रबाट कुनै कारबाही नभएको जनाउनुभएकाे छ । ‘लुम्बिनी प्रदेशमा पूर्वराजपा नेपाल र पूर्वसपाका प्रदेश समितिको समायोजन हुन नसकी जसपा नेपालको प्रदेश समिति गठन हुन बाँकी नै रहेको तर प्रदेश सभामा दुवै संसदीय दलको समायोजन भइ जसपा नेपालको ६ सदस्यीय संसदीय दल गठन भइ कार्यरत रहेकाले यसैलाई स्वायत्तता दिइ प्रदेश सभासम्बन्धी सम्पूर्ण कार्य लोकतान्त्रिक प्रक्रियाबाट गर्न गराउन निर्देशन पठाइसकेको र त्यसैलाई मान्यता दिइने व्यहोरा जानकारी गराइन्छ’, पत्रमा भनिएको छ । 

यस्तै उज्यालोसँग कुरा गर्दै जसपा नेता लक्ष्मणलाल कर्णले प्रदेश सभा सदस्यलाई कारबाही गर्नेबारे कुनै छलफल नभएको बताउनुभएको छ । ठाकुर र कर्ण पूर्वराजपा समूहका हुन् ।

बिहीवार लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी जसपा सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे पदमुक्त भएको जानकारी गराएको थियो । 

सन्तोषकुमार रुपन्देही क्षेत्र नम्बर ३ (१) र विजयकुमार यादव बाँके क्षेत्र नम्बर (९१) बाट प्रत्यक्ष निर्वाचित हुन् भने रायमाझी र पाण्डे समानुपातिक सांसद हुन् । उनीहरू चारै जना केही दिनअघि मात्रै लुम्बिनी प्रदेश सरकारमा मन्त्री बनेका थिए । 

प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफैँविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदसहित चार जनालाई मन्त्री बनाउनुभएको थियाे । पाण्डेबाहेक तीनैजनाले मुख्यमन्त्री पाेखरेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै उनीहरूले लुम्बिनी प्रदेशको मन्त्री बनेर शपथ ग्रहण गरेका थिए ।   

अन्तिम अपडेट: पुस २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया