‘एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्‍याे’

 जेठ १७, २०७८ सोमबार १३:१८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाउनुभएको छ ।

सोमवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री ढकालले नेकपा एमाले र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनसायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गर्नुभएको बताउनुभएको हो । दलीय व्यवस्थामा अरू दलका सांसदको समर्थन छ भन्नु गैरलोकतान्त्रिक भएको भन्दै उहाँले कांग्रेसले अरू पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोपसमेत लगाउनुभयो । 

उहाँले भन्नुभयो, ‘आउँदाे चुनावमा जसपा र नेकपा एमालेलाई विभाजनमा लानका लागि आफू प्रधानमन्त्री हुने सर्तमा नै यी पार्टी विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरू पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनसायका साथ नेपाली कांग्रेसजस्तो आफूलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरूको घर झगडा गराएर यो खालको काममा लाग्ने कुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरू दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैरलोकतान्त्रिक कुरा अरू केही हुन सक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्न नहुने बताउनुभयो । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरणअनुसारकाे राजनीति गर्न खोज्नु प्रतिगमन भएको उहाँले बताउनुभयो ।

मन्त्री ढकालले भन्नुभयो, ‘धारा ७६ (५) को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरूले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् । बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणालीभित्र निर्दलीय आचरण र आकाङ्क्षाअनुसारकाे राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ, त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’

मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताउनुभयो । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शी र भयरहित चुनाव गराउन अगाडि बढ्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया