प्रचण्डकाे दाबी : शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चले परमादेश जारी गर्छ

 असार १४, २०७८ सोमबार १९:५३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्र गर्न सक्ने खतरा कायमै रहेको बताउनुभएको छ । सोमवार विपक्षी गठबन्धनले बुद्धिजीवीहरूसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले अदालतको निर्णयमाथि प्रभाव पार्ने षडयन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाउनुभएको हो । उहाँले सत्ता केन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले थाहा पाएको दाबी पनि गर्नुभयो । 

प्रधानमन्त्री ओलीकाे राजनीतिक भविष्य नै ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्र गर्न सक्ने खतरा रहेको अध्यक्ष दाहालले दाबी गर्नुभयो । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रूपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको पनि उहाँले आरोप लगाउनुभयो । प्रचण्डले भन्नुभयो, ‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा झुट, बेइमानबाहेक केही नजान्ने निरङ्कुशको रूपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो । मलाई त कहिलेकाहीँ केपीजीलाई यसो सम्झिँदाखेरी पनि कठै बिचरा भन्न पनि मन लाग्छ । त्यत्रो वर्ष दुःख गर्‍या हो । चौध वर्ष जेल पनि बस्या हो, हुँदो रहेनछ नि त दृष्टिकोण र प्रवृत्ति नभएपछि त जेल बसेर पनि के हुँदो रहेछ र ? त्यसकारण उहाँ चाहिँ ओरालो लागेकै रूपले बुझ्छु । अझै षड्यन्त्र गर्न जुनसुकै हदमा जाने खतरा पनि छ ।’

उहाँले ढिलै भए पनि प्रतिनिधि सभा पुनर्स्थापना हुने र सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गर्ने दाबी गर्नुभयो । तथ्य, तर्क र प्रमाणले पुनर्स्थापना हुने कुरामा आशङ्का गर्ने ठाउँ नभएको उहाँले बताउनुभयो । यद्यपि संसद् पुनर्स्थापना नै भए पनि ठूलो खेल चलिराखेको गन्ध आफूले पाएको उहाँले बताउनुभयो । पुनर्स्थापनाले मात्रै समस्याको समाधान नहुने भन्दै प्रचण्डले पुनर्स्थापित संसद् संसद् नहुनुभन्दा पनि नराम्रो स्थितिमा हुने आशङ्कासमेत व्यक्त गर्नुभयो । अझै पनि ढुक्क हुन सक्ने अवस्था नरहेको उहाँले बताउनुभयो । 

अध्यक्ष प्रचण्डले सरकार अवैधानिक र असंवैधानिक भएको भन्दै यस सरकारले गरेका संवैधानिक निकायका नियुक्तिलाई गठबन्धनको सरकारले खारेज गर्ने बताउनुभयो । ओली सरकारले गरेको निर्णय खारेजी गरेर मान्यता स्थापित हुने गरी पुनर्नियुक्ति गरिने अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यत्रो अवैधानिक सरकार छ । असंवैधानिक सरकार छ । उसले गरेका सबै काम, कारबाही कुनै मूल्य, मान्यतामा छैनन् । सबै अनैतिक छ । भ्रष्ट छ । गरेका नियुक्ति अवैधानिक छन् । ती खारेजयोग्य छन् । गठबन्धनको तर्फबाट कुनै अवैधानिक ढङ्गले, असंवैधानिक ढङ्गले, अलोकतान्त्रिक ढङ्गले गरेका सबै नियुक्ति खारेज गरिनेछ । मानिँदैन तिनलाई । कुनै हालतमा मानिँदैन । संवैधानिक नियुक्ति पनि नाटकीय ढङ्गले, षडयन्त्रमूलक ढङ्गले गरिएका छन् । मैले न्याय क्षेत्रका साथीहरूसँग पनि लगातार छलफल गरेको छु । यी सबै खारेज गरिनुपर्छ र मान्यता स्थापित हुने गरी पुनर्नियुक्ति गर्न जरुरी छ ।’

अध्यक्ष दाहालले सरकार कोभिड–१९ को महामारीबाट नागरिकलाई जोगाउन गम्भीर नरहेको बताउनुभयो । कमिसनको ध्यानमा लागेर कोभिडविरुद्धको खोप सरकारले ल्याउन नसकेको भन्दै उहाँले गठबन्धनको सरकारको पहिलो प्राथमिकता भने कोभिड–१९ र विपत्तिबाट नागरिककाे जीवन रक्षा गर्ने नै पहिलो प्राथमिकता हुने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया