‘सरकारका ऐतिहासिक कामका कारण एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गयाे’

 असार १६, २०७८ बुधबार १६:३२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले नागरिक माझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ । बुधवार बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकारले ऐतिहासिक रूपमा अभूतपूर्वक ढङ्गले विकास निर्माणको गतिलाई अघि बढाएका कारण नागरिकमा लोकप्रिय हुँदै गएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘योजनाबद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकाङ्क्षा र त्यस आकाङ्क्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र त्यसअनुसारकाे क्रियाकलापले हाम्रो पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।’

बिमिस्टेक, लगानी सम्मेलनलगायत अन्तर्राष्ट्रियस्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय हित सार्वभौमसत्तालाई सम्वर्द्धन गरिरहेको र हाम्रा छिमेकी मित्र देशहरूकाे सम्बन्धमा कतै असमझदारी पैदा भइ हाल्यो भने त्यसलाई राष्ट्रिय हित, न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्त्वका आधारमा पारस्परिक लाभ र पारस्परिक सम्मानका आधारमा, सार्वभौम समानताका आधारमा मतभेद हटाउँदै लगेका थियौँ । विकास गर्दै लगेका थियौँ । इतिहासमा पहिले कहिलेकाहीँ नभएका ठूला–ठूला सकारात्मक लक्ष्यहरू प्रकट भएका थिए ।’ 

सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरू व्यवहारमा भद्दा ढङ्गले प्रकट हुँदै आएको टिप्पणी उहाँले गर्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘खासगरी सञ्चारमाध्यममा पार्टीका नीतिहरू अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइज्जती र अपमान गर्ने, सरकारले गरेका राम्रा उपलब्धिको चर्चा नगर्ने लगायतका थुप्रै प्रयास चलिरहे । प्रचारात्मक ढङ्गले । यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ । जनता दुखी छन् र निराश छन् ।’  

प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकाङ्क्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गर्नुभयो । पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षड्यन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको जिकिर प्रधानमन्त्री ओलीले गर्नुभयो । अहिले त्यो खेल विरोधीहरूसँगको साँठगाठमा प्रवेश गरेको पनि उहाँले टिप्पणी गर्नुभयो । पार्टीभित्र पार्टी सञ्चालनका लागि अवैध सम्झौता गर्नुपर्ने अवस्था सिर्जना गरिएको उहाँले दाबी गर्नुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया