प्रचण्डकाे प्रश्न : मैले केपी ओलीसँग गलत सम्झाैता गरेकाे थिएँ त ?

 असार १६, २०७८ बुधबार १९:४८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी ओली प्रवृत्ति नै देश र देशवासीका लागि सबैभन्दा ठूलो घातक रहेको भन्दै त्यसविरुद्ध एकजुट हुन आह्वान गरेको छ । नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीसँग बुधवार गरेको अन्तरक्रियामा गठबन्धनमा सहभागी दलका शीर्ष नेताहरूले ओली प्रवृत्तिको अन्त्य गर्नु अपरिहार्य रहेको भन्दै त्यस कार्यमा एक ठाउँमा उभिन सबैलाई आग्रह गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लोकतन्त्र, राष्ट्र र संविधानको मुख्य घातक नै केपी ओली प्रवृत्ति भएको बताउनुभएको छ । विपक्षी गठबन्धनले बुधवार गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले ओली प्रवृत्तिका विरुद्ध संविधानको रक्षा, लोकतन्त्रको रक्षा र देश रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको स्पष्ट पार्नुभयो । उहाँले ओली प्रवृत्ति विरुद्ध एकजुट हुन पनि सबैलाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, राष्ट्र, संविधानका निम्ति अहिलेलाई मुख्य घातक ओली प्रवृत्ति हो । त्यसका विरुद्ध हामी छौँ । ओलीका विरुद्ध जाने हदसम्म तपाईँहरूसँग हो हामी तर तपाईँहरूभित्र पनि हामीले ओली देखेका छौँ । त्यसैले धेरै आशा छैन तर अहिलेको मुख्य समस्या ओली भएकाले त्यहाँसम्म हामीसँगै छौँ भन्ने ठान्छु । हाम्रो कार्यगत एकता भयो । हामीले राम्रोसँग आत्मसात् गर्दा यो छलफल क्रिटिकल ढङ्गले अघि बढेकाले यो बढी फलदायी हुन्छ भन्ने मैले महसुस गर्छु ।’

राजनीतिक दलका नेताहरू समस्या पर्दा नागरिक माझ आउने र सत्तामा पुगेपछि जनजीविकाका सवाल बिर्सने गर्दछन् भन्ने सञ्चारकर्मीको आरोपमा उहाँले सबै नेताहरू उस्तै नभएको दाबी गर्नुभयो । उहाँले शान्ति प्रक्रियादेखि संविधान सभाबाट संविधान जारी गरेर गणतान्त्रिक देश घोषणा गर्ने समयसम्म आफूले गरेको योगदान तथा सम्झौताको फेहरिस्त राख्दै उहाँले ती काममा लचिलो हुनु गल्ती थियो ? भनी प्रश्न गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, ‘तपाईँहरूले भनेजस्तो हामी सबै उस्तै चाहिँ होइनौँ । केपीले प्रतिनिधित्व गर्ने प्रवृत्ति र हामी यहाँ भएका पाँच पार्टीले प्रतिनिधित्व गर्ने प्रवृत्ति एउटै होइन । म युद्धमा थिएँ ठिकै थिएँ । म शान्तिमा आउनु गल्ति भएको हो ? संविधानसभा बनाउनु गल्ती भएको हो ? सङ्घीय लोकतन्त्र–गणतन्त्र घोषणा गर्नु गल्ती भएको हो ? तपाईँहरू सोचिदिनोस् । किन यस्तो भयो ? मैले चुनाव गरिसकेपछि राजनीतिक स्थायित्वका लागि कम्युनिस्ट एकता गर्दा ठिक हुन्छ भनेर प्रस्ताव गर्न गएँ । गल्ती गरेँ मैले ? मैले गलत सम्झौता गरेको थिएँ त केपीसँग ? लिडरशिपका बारेमा गरिएका सम्झौता र सहमति गल्ती थिए त ? राष्ट्रको अहितमा थिए त ? यो पटक त लिखित गरिएको छ भन्ने ठानेँ मैले । सबैको हस्ताक्षरसहितको दस्तावेज पारिएको छ भने ठिकै छ । यस्तो त नहोला भनेको । मेरो गल्ती हो त्यो ?’

कम्युनिस्ट पार्टी एकीकरणका बेला भएका सहमतिमा हस्ताक्षर गरेका प्रधानमन्त्री ओली अहिले भने खलनायकको रूपमा देखा परेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले विश्वभरका कम्युनिस्ट पार्टीमा खलनायक जन्मिएको इतिहास रहेको भन्दै त्यसविरुद्ध लड्नुको विकल्प नभएको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकार बन्नेबित्तिकै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने, वर्तमान सरकारले गरेका अवैधानिक राजनीतिक नियुक्तिलाई बदर गर्ने लगायतका काम गर्ने पनि स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया