देउवाकाे पक्षमा गरेकाे हस्ताक्षर साेमवार बेलुका ५ बजेसम्म फिर्ता लिन एमालेकाे आह्वान

 असार १८, २०७८ शुक्रबार १६:४०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने एमाले सांसदहरूलाई सोमवारसम्ममा हस्ताक्षर फिर्ता लिन आह्वान गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरूलाई सोमवार बेलुका ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन आग्रह गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । उहाँले बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षलाई जानकारी गराउने निर्णय गरेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएका वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु देशको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, देश र नागरिककाे चाहना, हित केहीसँग पनि मेल खाने विषय होइन । त्यो हस्ताक्षरलाई आउने सोमवार बेलुका ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आह्वान गरेका छौँ । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौँ ।’

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आह्वान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान दिन नेता, कार्यकर्तामा आह्वान गरिएको छ ।

प्रवक्ता ज्ञवालीले भन्नुभयो, ‘यो पार्टीको एकतामा यो देशको लोकतन्त्र, कम्युनिस्ट आन्दोलन र देशको भविष्य पनि धेरै हदसम्म जोडिएको हुनाले  यो पार्टीको एकतालाई सुदृढ गर्न हामीले फेरि एकचोटि सबै नेता, कार्यकर्तालाई आह्वान गरेका छौँ । अहिले पार्टीभित्र देखा परेका केही समस्याका कारणले देशभर नागरिकमा निराशा छ र विपक्षीहरूमा उत्साह छ । सबै नेता, कार्यकर्तालाई हाम्रो पार्टीको काँधमा रहेको ऐतिहासिक अभिभारालाई नागरिककाे चाहना, कार्यकर्ताको भावनालाई केन्द्रविन्दुमा राखेर एकतामा योगदान गर्न आह्वान गरेका छौँ ।’

एमाले केन्द्रीय कमिटी बैठक शनिवार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा फेरि बस्ने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया