‘सहमति कार्यान्वयन नभए हाम्रा साथीहरू भित्र बस्छन् तर त्यसकाे मूल्य सरकारले चुकाउनुपर्छ’

 असार २०, २०७८ आइतबार १९:३१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले आफूहरूसँग भएको सहमति कार्यान्वयन नभए त्यसको नोक्सान सरकारलाई नै पर्ने बताउनुभएको छ । 

विप्लव समूहले आइतवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाण्डले संसदवादी दलहरूमा देखिएको राजनीतिक सङ्घर्ष, सरकारविरुद्धको संसदीय मोर्चालगायतले सहमति कार्यान्वयनमा प्रभाव पारेको देखिए पनि त्यसमा सरकार इमानदार हुनुपर्ने तर्क गर्नुभयो । सहमति कार्यान्वयनका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटपछि भएको पत्रकार सम्मेलनमा प्रकाण्डले सहमति कार्यान्वयन भएन भने त्यसको मूल्य सरकारले चुकाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, छोड्नु भएन भने पनि हामी आत्तिहाल्नुपर्ने छैन । किन भने यो त राजनीति हो । परिवर्तन, आन्दोलन हो । सङ्घर्ष हो । यसले हामीलाई पनि केही प्रश्न खडा गर्ला त्योभन्दा ठूलो नोक्सानी चाहिँ मूल्य चुक्ता त सरकारले गर्नुपर्छ । हामीलाई त्यही होला । हाम्रा साथीहरू भित्र बस्छन् । तर कुरा त्यो होइन । यसमा फाइदा छैन भनेका छौँ र छिटै साथीहरूलाई निकाल्नेतिर र त्यसका निम्ति राजनीतिक र कानुनी प्रक्रिया तीव्रताका साथ अघि बढाउने हामीले भनेका छौँ । 

प्रवक्ता प्रकाण्डले सहमतिअनुसार बन्दी बनेका आफ्ना नेता/कार्यकर्ता छोड्न ढिलाइ भइरहँदा जनस्तरमा विभिन्न प्रश्न उठेको भए पनि सम्झौताको राजनीतिक महत्त्व घट्यो भन्ने भनाइमा सत्यता नभएको दाबी गर्नुभयो । सहमति कार्यान्वयनमा जटिलता आएको तर आफूहरूसँगको सहमति कार्यान्वयन गर्नैपर्ने तर्क पनि उहाँले गर्नुभयो । बोलेर पूरा नगर्ने प्रवृत्ति राजनीतिमा र धेरै संवादमा रहेको उल्लेख गर्दै प्रवक्ता प्रकाण्डले जनतासँगको राजनीतिमा त्यो स्वीकार नहुने चेतावनी दिनुभयो ।

उहाँले आइतवारकाे भेटघाटले एउटा साझा जिम्मेवारी पनि प्रदान गरेको र आफूहरूको तर्फबाट गर्ने काम आफूहरूले गर्ने र सरकारको तर्फबाट राजन भट्टराईले गर्ने गरी जिम्मेवारी तोकिएको पनि जानकारी दिनुभयो । उहाँले सरकार र आफ्नो पार्टीबीचको सहमति राजनीतिक मुद्दा भएकाले कुनै पनि राजनीतिक दल वा सत्तापक्ष वा प्रतिपक्षीहरू सहमतिको विरुद्ध जानुपर्ने आवश्यकता नरहेको बताउनुभयो ।

आइतवारकाे भेटघाटले जनतालाई आशावादी र उत्साहित बनाउँछ भन्ने आफूहरूले ठानेको भन्दै प्रवक्ता प्रकाण्डले बन्दी नेता/कार्यकर्ताको रिहाइपछि नेपालको राजनीतिक, आर्थिक, सामाजिक समस्यालाई शान्तिपूर्ण ढङ्गले वार्ताकाे माध्यमबाट हल गर्ने मुद्दामा प्रवेश गर्ने बताउनुभयो । त्यसपछि राष्ट्रिय राजनीतिक मुद्दामा पनि छलफल सुरु गर्ने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया