आउने चुनावमा पनि भित्तेलेखन गर्न दिन्नौँ : मेयर शाक्य

 असार २२, २०७८ मंगलबार १४:७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले बनाएको कानुन–नीति र सर्वोच्च अदालतको फैसलालाई सबैले पालना गर्नुपर्ने बताउनुभएको छ । नगर सभाको नवौँ अधिवेशनको पाँचौँ बैठकपछि कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘हामी नीति बाहिर जानुहुन्न’, शाक्यले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसला र महानगरपालिकाको कानुन–नीतिलाई उल्लङ्घन गर्न पाइन्न । जे नीति छ, त्यही नीति कार्यान्वयनमा लाग्नुपर्छ ।’ 

शाक्यले ‘कोभिड फ्रन्टलाइनर’ को सम्मानमा बनाइएका भित्तेचित्र मेयरले मेटायो भनेर बढी नै प्रचार गरेको बताउनुभयो । ‘कार्टुन बनाएर मेरो प्रचार गरियो । उहाँहरूलाई व्यक्तिगत रूपमा धन्यवाद’, शाक्यले भन्नुभयो, ‘तर सर्वोच्चको आदेश र महानगरपालिकाको कानुन–नीति उल्लङ्घन गरी जथाभाबी भित्तेचित्र कोर्न पाइन्न ।’ 

मेयर शाक्यले सकारात्मक सुझाव ग्रहण गर्न तयार रहेको पनि बताउनुभयो । ‘सकारात्मक सुझाव ग्रहण गर्न तयार छु’, उहाँले भन्नुभयो, ‘सर्वोच्च अदालतले २०७२ सालमै सहरका घर, पर्खाल, बिजुलीको पोल लगायतमा रहेका पर्चा, पम्पलेट, भित्तेलेखन, होडिङ बोर्ड, विज्ञापन बोर्ड हटाउन र थप राख्न नदिन आदेश दिएको स्मरण गराउन चाहन्छु । त्यसैले मेयरलाई देखाइ दिन्छाैँ भनेर नीति–नियमको उल्लङ्घन गरी योजनाबद्ध ढङ्गले अघि बढ्ने हो भने कोही पनि लक्ष्यमा पुग्न सक्दैनौँ ।’  

२०७२ भदौ १६ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको संयुक्त इजलासले महानगर क्षेत्रका होडिङ बोर्डहरू, भित्ते लेखन, पाेस्टर, पम्पेट लगायतका सामग्री हटाउन आदेश दिएको थियो । महानगरपालिकाको निर्देशिका र विज्ञापन नीतिले पनि विज्ञापन तथा प्रचार सामग्री भित्तेलेखनमा रोक लगाएको छ । 

‘सर्वोच्चको आदेशलाई कार्यान्वयन गर्दै विगतमा पनि त्यस्ता सागम्री हटाउने कार्य गरेको स्मरण गराउन चाहन्छु’, मेयर शाक्यले भन्नुभयो, ‘पैसा तिरेर विज्ञापन राख्छौँ भन्दा पनि हामीले सर्वोेच्चको आदेश र महानगरपालिकाको नीति पालना गर्दै त्यसो गर्न नदिएको हो । त्यसबाट आयस्रोत त हुन्थ्यो नि! हामीले नीति छैन भनेर दिएनौँ । त्यसैले सर्वोेच्चको आदेश र महानगरको नीति मेयर, उपयमेरले मात्रै होइन वडाध्यक्ष, सदस्य, कर्मचारी सबैले मान्नुपर्छ ।’ 

उहाँले यसअघि पनि दरबार हाइस्कुल, त्रिचन्द्र कलेज, वीर अस्पताल अगाडि, नेशनल ट्रेडिङ लगायतका ठाउँमा भित्तामा लेखिएका सामग्री हटाएको जानकारी दिनुभयो । ‘नीति सबैका लागि बराबर हुन्छ’, शाक्यले भन्नुभयो, ‘पहिलो पटक रत्नपार्कको भित्तेचित्र मेटाएको जसरी प्रचार भइरहेको छ । त्यो होइन, निषेध गरिएका अन्य ठाउँमा पनि अनुमति नलिइ बनाएका त्यस्ता सामग्री हटाएका छौँ ।’

‘सहकार्यबाट कोभिड फ्रन्टलाइनरको सम्मान’ 

उहाँले स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोबल उच्च बनाउन सहकार्य आवश्यक रहेको प्रष्ट पार्नुभयो । ‘निषेध गरिएको ठाउँमा कोरेको भित्तेचित्रले मात्रै उहाँहरूको सम्मान हुँदैन । उहाँहरूसँग सहकार्य गरेर अघि बढ्नुपर्छ । त्यो महानगरपालिकाले गरिरहेको छ’, उहाँले भन्नुभयो, ‘स्वास्थ्यकर्मी, सेना, प्रहरी, पत्रकार, कलाकारहरूको मनोबल उच्च बनाउनुपर्छ भनेर महानगरपालिकाले सक्दो सहयोग गरेको विदितै छ ।’

काठमाण्डाै महानगरपालिकाले महानगरपालिका क्षेत्रबाहिरका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गर्न पाउनुपर्छ भन्ने मान्यताका साथ कार्य गरिरहेको मेयर शाक्यकाे भनाइ छ । 

उहाँले नेपाल सरकारद्वारा सञ्चालित विभिन्न कोभिड अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आवश्यक सहयोग गरेको स्मरण गराउनुभयो । ‘स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारी र सामुदायिक अस्पतालमा हामीले आर्थिक, भौतिक, प्रविधिगत र प्रणाली विकास गर्ने कार्यमा सहयोग गरेका छौँ’, उहाँले भन्नुभयो, ‘काठमाण्डाै महानगर क्षेत्रभन्दा बाहिरका अस्पतालसँग समेत महानगरपालिकाले सहकार्य गरेर त्यहाँका स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउने कार्य गरेको छ । त्यसैले हामीले कसरी उहाँहरूको सम्मानमा आघात पुग्ने काम गर्‍याैँ ?’ 

शाक्यले महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापित विदेशका विभिन्न नगरले कोभिड नियन्त्रण र रोकथामका लागि उपलब्ध गराएको स्वास्थ्य सामाग्री वीर अस्पताल, कान्ति बाल अस्पताल र थापाथलीमा रहेकाे परोपकार प्रसूति तथा स्त्री रोग अस्पताललाई पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको स्मरण गराउनुभयो । ‘त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेशिन खरिदका लागि आर्थिक अनुदान दिएका छौँ । छाउनी अस्पतालमा काठमाण्डाै महानगरपालिकाकै सहयोगमा निःशुल्क डायलासिसकाे व्यवस्था गरेका छौँ । काठमाण्डाैकाे ‘कोर–सिटी’ मा रहेकाे क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा कामपाको सहयोगमा ३५ शय्याको विशेष कोभिड अस्पताल सञ्चालनमा छ । महानगरपालिकाकै सहयोगमा बसुन्धरामा निःशुल्क कोभिड आइसोलेशन वार्ड सञ्चालन गरेका छौँ’, उहाँले भन्नुभयो, ‘यी चाँहि चिकित्सकको मनोबल उच्च बनाउन गरेका कार्य होइनन् ?’ 

‘उम्मेदवार हुँदा हामी कसैले भित्तोमा प्रचार गरेनौँ’     

चुनावका बेला सबै राजनीतिक दलले आफू अनुकूल नारा लेखेर प्रचार गर्न सक्थे नि ! किन गरेनन् भन्दै मेयर शाक्यले भन्नुभयो, ‘उनीहरूले नीति बाहिर जानु हुँदैन भनेर गरेनन् । म आफैँ पनि मेयरको उम्मेदवार थिएँ नि ! हामी कसैले पनि सर्वोच्च अदालतको फैसला, काठमाण्डाै महानगरपालिकाको कानुन र नीति विपरीत जानु हुँदैन भनेर महानगरपालिकाका भित्तामा चुनावको प्रचार नगरेका हौँ ।’

मेयर शाक्यले आफू निर्वाचित भएर आएपछिको पहिलो नगर सभाले नै सर्वसम्मत रूपमा काठमाण्डाै महानगरपालिकाको नारा ‘सांस्कृतिक सहर काठमाडौँ महानगर’ तय गरेको पनि स्मरण गराउनुभयो । ‘त्यस नाराले पनि काठमाण्डाै सहरलाई सांस्कृतिक सहरका रूपमा विकास गर्नुपर्ने हुन्छ’, उहाँले भन्नुभयो, ‘आफू खुसी जे–पायाे त्यही गर्दै जाने हो भने नाराको औचित्य नै समाप्त हुन्छ ।’ 

उहाँले आफू मेयर निर्वाचित भएपछि सङ्घीय र प्रदेश सभाको चुनावमा समेत सहरका कुनै पनि भित्तामा पर्चा, पम्पलेट, भित्तेलेखन गर्न नदिएको स्मरण गराउनुभयो । ‘सङ्घीय र प्रदेश सभाको चुनाव हुँदा म काठमाण्डाै महानगरपालिकाको मेयर थिएँ’, उहाँले भन्नुभयो, ‘सहरका कुनै पनि भित्तामा मेयरको उम्मेदवार हुँदा र पछिका चुनावमा समेत त्यस्तो कार्य गर्न निषेध थियो । त्यो बेला पनि त सुन्दर नारा लेख्न सकिन्थ्यो होला । त्यो निषेध गरिएको भएर नै नदिएको हो, नगरेको हो । आउँदाे चुनावमा पनि ती कार्य निषेध नै गरिन्छ ।’ 

मेरो कार्यकर्ता हो, मेरो मान्छे हो, त्यसैले पाउनुपर्छ भन्ने ढङ्गले अघि बढ्ने हो भने समस्या हुने पनि उहाँले बताउनुभयो । ‘विज्ञप्ति जारी गर्ने साथीहरूलाई अनुरोध गर्न चाहन्छु । कम्तीमा पनि सर्वोच्चको आदेशलाई पालना गर्नुहोस् । हामी छौँ भनेर उचाल्ने परम्पराले थप समस्या सिर्जना हुन्छ । विज्ञप्ति नै निकालेर हामी छौँ भन्दै उचाल्नेहरूलाई मेरो अनुरोध छ’, उहाँले भन्नुभयो ‘नीति, आदेश केही नमान्ने हो भने कहाँ–कहाँ, कस–कसलाई के–के लेख्न दिने हो ? तपाईँहरू भन्नुहोस् । तर आदेश, कानुन र नीतिको पालना त गर्नुपर्ला नि !’ 

अन्तिम अपडेट: माघ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया