हामीले नयाँ पार्टी खाेले पनि ओलीले गल्ती स्वीकारेर आए एकता हुन्छ : नेता नेपाल

 भदौ १, २०७८ मंगलबार १९:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको छ । मङ्गलवार आफू पक्षीय जनवर्गीय सङ्गठनहरूको कार्यक्रमलाई जुममार्फत सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभएको हो । 

ओलीले आफूहरूलाई लगाएको आरोप फिर्ता लिने र आत्मालोचना गर्ने कुनै 'स्प्रिट' नदेखाएको उल्लेख गर्दै उहाँले ओलीले पार्टी विभाजन गर्न चाहे पनि आफूहरूलाई दोष दिइएको बताउनुभयो । उहाँले पुनर्गठित पार्टीले राष्ट्रियता, लोकतन्त्र, सामाजिक परिवर्तन र समाजवादको झण्डा बोक्ने पनि बताउनुभयो । 

नेता नेपालले भन्नुभयो, ‘उहाँ पार्टी विभाजन गर्न उद्यत हुनुहुन्छ । विभाजन उहाँले गर्ने अनि दोष हामीलाई दिने । हामी एकताका निम्ति अन्तिम समय प्रयत्न गर्ने तर उहाँले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने यो स्थितिबाट उहाँ गुज्रिएको हुनाले अब हामी पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौँ । यो पार्टीलाई पुनर्गठन गरिने छ । क्रान्तिकारी पार्टीमा रूपान्तरण गरिनेछ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ र सामाजिक परिवर्तनको, समाजवादको झण्डा बुलन्द गरिनेछ । नेपाली जनताको प्यारो शक्तिको रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई हामी अगाडि बढाउनेछौँ ।’

उहाँले आफूलगायतका सांसदहरूलाई कारबाही गरेको तर्फ इङ्गित गर्दै आफूहरू कारबाहीबाट विचलित नभइ अगाडि बढ्ने पनि बताउनुभयो । वरिष्ठ नेता नेपालले आफूहरूले नयाँ पार्टी खोले पनि अध्यक्ष ओलीले गल्ती स्वीकार गरेर पछाडि हटेमा पार्टी एकताको ढोका खुला रहने बताउनुभयो । आउँदाे चुनावमा सहकार्य हुनसक्ने समेत उहाँको भनाइ छ ।

नेता नेपालले भन्नुभयो, ‘कारबाहीबाट विचलित हुने छैनौँ । हामी अगाडि बढ्नेछौँ । एकताका निम्ति हाम्रो ढोका सधैैँभरि खुला छ । आज फेरि एउटा नयाँ पार्टी हामीले खोलिहाल्यौँ भने पनि, पार्टी पुनर्गठनकाे नयाँ झण्डा बुलन्द गरिहाल्यौँ भने पनि फेरि केपी ओलीले सबै गल्ती स्वीकार गरेर पछाडि हट्नुहुन्छ भने फेरि एकताको ढोका खुला हुनेछ । अहिले हुनेछ । भोलि हुनेछ ।’

उहाँले आफुहरू अहिले सबै पार्टीसँग सहकार्य गर्ने भए पनि कसैसँग पार्टी एकता हुने सम्भावना नरहेको स्पष्ट पार्नुभयो । उहाँले अन्य वामपन्थी शक्तिहरूलाई पनि एकताबद्ध बनाउने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया