‘कांग्रेस नेतृत्वकाे सरकारले आकाश–पाताल जाेडेर हुने/नहुने कुरा गर्दैन’

 भदौ ७, २०७८ सोमबार १८:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको छ । आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताउनुभएको हो । सबै पार्टीलाई मिलाएर सरकार बनाउनुपर्ने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलाइ हुन गएको उहाँको स्पष्टीकरण थियो ।  

सहमहामन्त्री महतले कांग्रेस नेतृत्वको सरकारले नेपाली नागरिकलाई कोरोना भाइरसकाे सङ्क्रमणबाट सुरक्षित गर्ने र कम्युनिस्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट देशलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताउनुभयो । उहाँले सरकारले नागरिककाे आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाउनुभयो ।

सहमहामन्त्री महतले भन्नुभयो, ‘सरकार नेपाली कांग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ । चुनौतीहरू धेरै छन्, अवसर पनि छ, यो चुनौतीलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ । नेपाली कांग्रेसलाई अवसर भनेको नागरिकका लागि पनि एउटा अवसर हो, ट्र्याक भन्दा बाहिर गएको यो देशलाई ट्र्याकमा ल्याउने अवसर हो भन्ने मलाई लाग्छ । नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले आकाश–पाताल जोडेर हुने, नहुने कुरा गर्दैन, नागरिकप्रति केन्द्रित भएर, नागरिकका प्राथमिक आवश्यक्ता के छन् ? त्यसमा केन्द्रित हुने प्रण प्रधानमन्त्रीजीले पनि गर्नुभएको छ । अहिले सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित गर्ने पहिलो प्राथमिकता हो, त्यसमा प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’ 

सहमहामन्त्री महतले नेपाली कांग्रेसले चुनावबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्णरूपमा नेपाली नागरिककाे पक्षमा काम गर्न सक्ने बताउनुभयो । साथै उहाँले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताउनुभयो । सहमहामन्त्री महतले आउँदो आम चुनाव महत्त्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताउनुभयो । उहाँले कम्युनिस्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियो चर्चा धेरै हुन थालेको समेत आरोप लगाउनुभयो । सहमहामन्त्री महतले नेपालले आफ्नो देशको स्वार्थ र आवश्यकतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया