दिगाे विकासका लक्ष्य हासिल गर्न सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन

 भदौ ८, २०७८ मंगलबार १६:२६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सङ्घीय संसद्काे राष्ट्रिय सभा अन्तर्गतकाे दिगो विकास तथा सुशासन समितिले दिगो विकासका लक्ष्य प्राप्तिका लागि सशक्त राजनीतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आज मङ्गलवार सिंहदरबारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिबद्धता खाँचो भएकाले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । 

दिगो विकास लक्ष्य हासिल गर्ने सबालमा सरकारको प्रतिबद्धताअनुसार राष्ट्रिय योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ । आउँदा दिनमा पनि दिगो विकास लक्ष्यमा प्राप्तिका सम्बन्धमा समीक्षा गरिने भन्दै सभापति तारादेवी भट्टले भन्नुभयो, ‘दिगो विकास र लक्ष्य हासिल गर्ने सबालमा र सरकारको प्रतिबद्धताअनुसार योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयनको लेखाजोखा राम्रोसँग सफल होस् भनि सुझाव र शुभकामना दिन चाहन्छु । आउँदा दिनमा हामी नियमित दिगो विकास लक्ष्यका सम्बन्धमा जोडिरहने छौँ र समीक्षा पनि गरिरहनेछौँ । साथै दिगो विकास लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र, प्रतिबद्धता पनि खाँचो भएकाले त्यसतर्फ गम्भीर बन्न सरकारलाई निर्देशन दिन चाहन्छु ।’

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्वनाथ पौडेलले राजनीतिक नेतृत्वले देशलाई विकासको गतिमा लैजाने सबालमा अकल्पनीय काम गर्न सक्ने भएकाले दिगो विकास लक्ष्य हासिल गर्ने सबालमा पनि सशक्त राजनीतिक संयन्त्र र प्रतिबद्धताको खाँचो रहेको बताउनुभयो । समाज परिर्वतन गर्न सक्ने राजनितिक शक्तिलाई दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा पनि शक्तिको रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेकाे उहाँले बताउनुभयाे । त्यसका लागि राजनीतिक नेतृत्वबीच साझा समझदारी र प्रतिबद्धता दुवै आवश्यक रहेको आयाेगका उपाध्यक्ष पाैडेलकाे तर्क छ ।

विभिन्न तहमा रहेका असमानतालाई राज्यले चिरफार गरेर हेर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले गाउ र सहर बीचको असमानता हटाउने विषयमा पनि राजनीतिक नेतृत्वबीच बुझाइमा स्पष्टता नभएकाले त्यसमा पनि स्पष्ट हुनुपर्ने बताउनुभयो । जोखिमपूर्ण बस्तीको स्थानान्तरण र दिगोपना लगायतबारे पनि राजनीतिक तहमा साझा बुझाइ र प्रतिबद्धता आवश्यक रहेको पाैडेलले बताउनुभयो । न्यायमा सबैको पहुँच पुर्‍याउने विषयमा सरकारले पर्याप्त काम गर्नुपर्ने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । न्याय लागत, त्यसको प्रक्रिया र पहुँचले पनि दीर्घकालीन विकासमा निकै ठूलो प्रभाव पार्ने आयाेगकाे उपाध्यक्ष पाैडेलले तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘लक्ष्यमा सङ्गत हुने गरेर पक्ष लिने कि लक्ष्यमा सङ्गत नहुने गरी पक्ष लिने ?  यी कुराहरू न्यायमा जोडिन्छ । सरकारले पैसा खर्च गर्न सक्छ तर फेरि लक्ष्य हासिल गर्नका लागि राजनीतिक नेतृत्व नै खाँचो पर्छ । मान्छेको शक्ति भनेको कलेक्टिभ्ली काम गर्न सक्ने क्षमतामा आधारित भएको हुनाले राजनीतिक दलहरूको नेतृत्वको भूमिका छ ।’

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले दिगो विकास लक्ष्य हासिल गर्नका लागि राजनीतिक दलहरूको भूमिका पनि रूपान्तरणकारी हुनुपर्ने बताउनुभयो ।

बैठकमा नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सभाका सदस्यहरूले दिगो विकास लक्ष्य हासिल गर्ने सन्दर्भमा सदस्यहरूले खेल्ने भूमिकालाई छलफलको विषय बनाउनुपर्ने बताउनुभयो । उहाँले दिगो विकासका निम्ति राजनीतिक नेतृत्वको भूमिका धेरै महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो ।  

गौतमले भन्नुभयो, ‘दिगो विकास लक्ष्य प्राप्तिका निम्ति राजनीतिक दलको भूमिका वृहत्तर महत्त्वपूर्ण छ । हामी परिवारमा सम्मान, माया, स्नेहको आधारमा हामीले त्यहाँबाट विकास गरेका छौँ कि छैनौँ ? समाजमा असमानता छन् भने त्यसलाई अन्त्य गर्ने काम गरेका छौँ कि छैनौँ, एक थरी मानिस धनी र बहुसङ्ख्य मानिस गरिब हुने स्थितिलाई हटाउनका निम्ति के गर्नुपर्छ ? आदि विषयहरू हामीले हेर्नुपर्छ ।’

त्यस्तै माओवादी केन्द्रका नेता तथा राष्ट्रिय सभा सदस्य दीनानाथ शर्माले सङ्घ, प्रदेश र पालिकाकाे योजना बनाउँदा संयोजनकारी भूमिका विकास गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सभा सदस्य विमला घिमिरेले नीति निर्माण गर्ने क्षेत्रमा महिलाहरूको राजनीतिक रूपमा विकास हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले विद्यमान बहु प्रकृतिका असमानताका कारण महिलाले चाहेर पनि विकासको लक्ष्यमा योगदान पुर्‍याउन नसकेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया