एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो ? : केपी ओली

 भदौ ९, २०७८ बुधबार १५:५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘देश जोगाउनका लागि सरकारले अध्यादेश ल्याएको’ भन्ने सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइप्रति आपत्ति जनाउनुभएको छ । अध्यक्ष ओलीले अहिलेको सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष दाहालले बिलकुलै झुट बोलेको दाबी गर्दै देशका अगाडि बेइमानपूर्ण कुरा नगर्न पनि चेतावनी दिनुभयो । 

आज बुधवार देशकाे पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पत्रकार सम्मेलन गरी उहाँले पहिला आफूले जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबीसमेत गर्नुभयो । आफ्नो पार्टी फुटाउनका लागि ल्याएको अध्यादेशलाई देश जोगाउनका लागि भन्ने ? अध्यक्ष ओलीको प्रश्न थियो ।

उहाँले भन्नुभयो, ‘पहिले आफूले जारी गरेको अध्यादेश र अहिले जारी गरिएको अध्यादेशकाे उद्देश्यमा, मनसायमा फरक छ । एक जना भित्रले भन्नुभयो– पहिलेको र अहिलको उस्तै हो भनेर । कोही नअलमलिनु होला भनेर । पहिलेको र अहिलको अध्यादेश उसै प्रयोजनका लागि उस्तै प्रयोजन, उस्तै मनसाय, उस्तै संवैधानिक प्रश्न होइन । कानुनी हिसाबमा उस्तै होइन, यो फरक छ । तर उहाँले साफ झुट बोल्नुभयाे, देशका अगाडि बेइमानीपूर्ण कुरा गर्नुभयो । सरकारले राजनीतिक पार्टीभित्र बदनियतका साथ हात हालेर अनुचित ढङ्गले कानुन निर्माण गरेर, अनुचित बाटोबाट कानुन निर्माण गरेर प्रतिपक्ष पार्टी फुटाउने कार्य अनैतिक हो, यो नैतिक कार्य होइन । देश जोगाउनका लागि अध्यादेश । यो अध्यादेश नआएको भने देश के हुन्थ्यो ? एमाले फुटाउन नपाएको भए देश के हुन्थ्यो ? बिलाउँथ्यो । यो के घाममा राखेको बरफको डल्लो हो ? कर्कलाको पातमा राखिएको पानी हो यो देश ? खर्तक्क झर्ने, कहाँ खस्यो–खस्यो थाहा नपाउने । देश जोगाउनका लागि अध्यादेश भन्ने कुराको पनि हद हुन्छ नि ! देश जोगाउनका लागि यो अध्यादेश । याे वितण्डा, असंवैधानिक क्रियाकलाप, यो अनैतिक कार्य नहुँदा देश जोगिँदैन ? यो बिलकुल गलत परिभाषा हो, गलत व्याख्या हो । यस्ता गलत व्याख्यामा हामी कोही पनि पर्नु हुँदैन भन्न चाहन्छु ।’

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबीसमेत गर्नुभयो । आफू नेतृत्वको सरकारलाई कामै गर्न नदिएको दाबी गर्दै उहाँले वर्तमान सरकार आफैँले विकास निर्माणको काम ठप्प पारेको बताउनुभयो । अध्यक्ष ओलीले दीर्घकालीन खालका आयोजनाहरूको काम अघि नबढाउन सरकारले परिपत्र गरेको उल्लेख गर्दै आक्रोशसमेत व्यक्त गर्नुभयो । उहाँले मेलम्ची खानेपानीको आयोजना आउँदाे वैशाखभित्र काठमाण्डाै ल्याउने कुरा गरे पनि सरकारले त्यहीअनुसारको काम अघि बढाउन नसकेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो सरकारलाई काम गर्न दिइएन । अहिलेको सरकार कामै गर्दैन । नकाम मात्रै गर्छ । भत्काउने काम गर्छ, बिगार्ने काम गर्छ । दीर्घकालीन आयोजनाहरू रोक्नू भनेर सरकारले परिपत्र गरेको छ । पुनर्निर्माण प्राधिकरणले काम गर्दै थियो, त्यसका इन्जिनियरहरूलाई तलबको समेत व्यवस्था गरिएको छैन । पुनर्निर्माणको काम जहाँ पुगेको छ, त्यही ठप्प छ । विकास, निर्माणको काम ठप्प भएको छ । जुन कामको ठेक्का लागेको थियो, ती कामहरू मात्रै चालु छन् । अरू नयाँ कामहरू हुनेवाला छैन । ठेक्का लाग्ने वाला पनि छैन । मेलम्चीको पानी वैशाखसम्म काठमाण्डाै आउने भनिएको छ तर त्यो पानी पनि आउने वाला छैन । किनभने गफले पानी आउँदैन, कामले पानी आउने हो ।’

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया