याे ‘टालाटुली’ गठबन्धन कति दिन रहन्छ ? हेर्दै जानुछ : महासचिव पाेखरेल

 भदौ १४, २०७८ सोमबार १७:३४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पाेखरेलले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’ को संज्ञा दिनुभएको छ । महासचिव पोखरेलले सत्तारुढ गठबन्धन धेरै दिन टिक्न नसक्ने दाबीसमेत गर्नुभयो । 

सोमवार काठमाण्डाैमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले आफ्नो पार्टी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर देशलाई सही दिशा दिने गरी अघि बढ्ने पनि बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर देशलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौँ ।’

महासचिव पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको पनि स्मरण गराउनुभयो । उहाँले पार्टीको आउँदाे महाधिवेशनमा आफू पनि अध्यक्ष पदका लागि योग्य उम्मेदवार भएको बताउनुभयो । सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा महासचिव पोखरेलले इतिहास, निष्ठा, निरन्तरता र क्षमता सबै हिसाबले आफू कुनै पनि जिम्मेवारी लिन सक्षम रहेको बताउनुभयो । तर त्यसका लागि परिस्थितिको ख्याल गरेर आफू अघि बढ्ने उहाँको भनाइ छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘मैले चाँहि के बुझ्छु भने त्यो संवेदनशील घडीमा आवश्यक्ता के पर्छ ? कस्तो हुन्छ ? देशभरका कार्यकर्ताको चाहना के हुन्छ ? डिमान्ड के हुन्छ ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । म मनोगत ढङ्गले भन्न त भनौँला तर त्यस बेलाको परिस्थिति, कार्यकर्ताको चाहना, आवश्यक्ता छ कि छैन ? त्यो कुरालाई हेक्का राख्नुपर्छ । तर तिमी त्यो क्षमता राख्छौँ कि राख्दैनौ भनेर मलाई सोध्ने हो भने मैले फेरि दोेहोर्‍याउँछु– म इतिहासले, निष्ठाले, निरन्तरताले, क्षमताले कुनै पनि जिम्मेवारीमा डिजर्भ गर्छु ।’

नेकपा एमालेको आउँदाे महाधिवेशन २०७९ साल वैशाख १० गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ । महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आउँदाे असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया