मन्त्रिपरिषदलाई पूर्णता दिन एकपछि अर्को गाँठो

 भदौ १६, २०७८ बुधबार ७:२०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर/रासस

काठमाण्डाै – मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ गठबन्धन दलहरुबीच एकपछि अर्को गाँठो देखिएको छ । यसअघि माधवकुमार नेपालको नयाँ दलले मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी थियो । तर माधव नेपालको दलले मान्यता पाएको एक हप्ता भैसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । सत्तारुढ गठबन्धनका नेताहरुबीच दिनहुँजसो बैठक भैरहे पनि मन्त्रालय भागबण्डामा सहमति जुट्न बाँकी छ । 

यस्तै राजनीतिक दल विभाजनसम्बन्धी नयाँ अध्यादेशअनुसार प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न नेकपा एमाले र जसपाका सांसदहरूलाई निर्वाचन आयोगले दिएको २२ भदौको समयसीमाका कारणले पनि मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको हो । यसबीचमा मन्त्रिपरिषद् विस्तार गर्दा सत्तारूढ दलभित्रको असन्तुष्ट समूहले अध्यादेशअनुसार फेरि २० प्रतिशत संख्या पुर्‍याएर दल विभाजन गर्ने डर गठबन्धन आबद्ध दलका नेताहरूमा छ । त्यसैले दल रोज्न निर्वाचन आयोगले दिएको समय घर्किएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनको तयारी छ । आयोगले दिएको समयसीमा सकिएपछि अध्यादेश निष्क्रिय पार्ने र मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धन आबद्ध दलका नेताबीच सहमति छ । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनमोर्चाबीच मन्त्रालय भागबण्डामा पनि कुरो मिलिसकेको छैन । आकर्षक मन्त्रालय कसले लिने भन्नेबारेमा गठबन्धन दलबीच विवाद छ ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच शक्तिशाली र आकर्षक मन्त्रालय कसले लिने भन्नेमा विवाद छ । सरकार निर्माणमा आफूहरूको भूमिका निर्णायक भएकाले माओवादी केन्द्रले पाएकै जस्तो शक्तिशाली मन्त्रालय आफूहरूले पाउनुपर्ने दाबी एकीकृत समाजवादी दलले गरेको छ । 
 

अन्तिम अपडेट: माघ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया