कार्यकर्ताले नेता छान्ने विधि लागू गरौँ : जनार्दन शर्मा

 असोज १, २०७८ शुक्रबार १९:२२:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्माले पार्टीका हरेक तहका कमिटीहरूमा कार्यकर्ताले नेता छान्न पाउने विधि लागू गर्नुपर्ने बताउनुभएको छ । अनेरास्ववियु क्रान्तिकारीको २४ औँ क्याम्पस जिल्ला सम्मेलनलाई काठमाण्डौमा सम्बोधन गर्दै नेता शर्माले माथिबाट नेता तोकिदिने परिपाटी अन्त्य गर्दै जानुपर्नेमा जोड दिनुभएको हो । 

माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका नेता शर्माले सङ्गठनका हरेक तहमा युवाहरूले आफ्नो नेतृत्व आफैँ छान्ने विधिलाई स्थापित गर्नुपर्ने बताउनुभयो । ‘युवाहरू अघि बढ्नुस्, आफ्नो नेता तपाईँ आफैँ चुन्नोस्’, उहाँले भन्नुभयो, ‘माथिबाट तोकिदिएको नेताले भन्दा चुनिएर आएको नेताले सङ्गठन बनाउँछ, पार्टी बनाउँछ ।’ उहाँले पार्टीको नीतिअनुसार विद्यार्थी सङ्गठनमा समेत ३५ प्रतिशत सङ्ख्यामा महिला नेतृत्व चुन्न आग्रह गर्नुभयो ।

सरकारका अर्थ मन्त्री समेत रहनुभएका नेता शर्माले प्रतिस्थापन विधेयकमार्फत सरकारले देशका हरेक वडामा ‘लेडिज फर्स्ट’ (महिला पहिला) कार्यक्रम ल्याएको उल्लेख गर्नुहुँदै यसको मर्मअनुसार हरेक निकायमा महिलालाई नेतृत्वदायी तहमा जिम्मेवारी दिन आग्रह गर्नुभयो । 

यस्तै सरकारले ‘पढ्दै कमाउँदै’ कार्यक्रम ल्याएको जानकारी दिँदै उहाँले अब हरेक विद्यार्थी स्वरोजगार हुँदै जानुपर्ने र हरेक विद्यार्थी कुनै न कुनै उत्पादनमूलक काममा समेत जोडिनुपर्ने बताउनुभयो । 

विद्यार्थी सङ्गठनको नेता नियमित रूपमा अध्ययनरत विद्यार्थी नै हुनुपर्ने भन्दै नेता शर्माले शैक्षिक संस्थाबाट पासआउट भइसकेको व्यक्तिले पुस्तान्तरण गरी आफ्नो उत्तराधिकारी जन्माउँदै जानुपर्ने बताउनुभयो ।  

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया