‘नेपालकाे हितविरुद्ध कुनै सम्झाैता हुँदैन, सबै देशसँग सन्तुलित सम्बन्ध कायम हुन्छ’

 असोज ६, २०७८ बुधबार १५:१०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नवनियुक्त परराष्ट्र मन्त्री डा. नारायण खड्काले नेपालको हितलाई केन्द्रमा राखेर चीन, भारतसहित विश्वका सबै देशसँग सन्तुलित सम्बन्ध कायम गरिने जानकारी दिनुभएको छ । 

परराष्ट्र मन्त्रालयमा आज बुधवार दिउँसाे पदबहाली गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले राष्ट्रिय हितलाई सर्वोपरि मानेर छिमेकी देश चीन र भारतसहित विश्वका सबै देशसँग सुमधुर एवम् सन्तुलित सम्बन्ध कायम गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय हित र स्वार्थ प्रवर्द्धन गर्न सबै राजनीतिक दलसँग विचार–विमर्श गरी अघि बढ्नेछौँ । सबै राजनीतिक दलको सहमतिका आधारमा देशकाे परराष्ट्र नीति सञ्चालन गरिनेछ ।’

वर्तमान विश्व परिवेशमा बाह्य सम्बन्ध सहज, सुदृढ एवम् सुमधुर बनाउन आवश्यक भएको र अहिले दक्षिण एसिया अन्तर्राष्ट्रिय समुदायको दृष्टिमा रहेको चर्चा गर्दै परराष्ट्र मन्त्रालयलाई अझ गतिशील आधुनिक प्रविधियुक्त बनाउन हरसम्भव प्रयास गर्ने प्रतिबद्धता मन्त्री खड्काले व्यक्त गर्नुभयो । 

उहाँले चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’, अमेरिकी अनुदान सहायता ‘मिलिनियम कर्पोरेशन च्यालेन्ज (एमसीसी)’ र हिन्द–प्रशान्त रणनीतिको अध्ययन गरिने र नेपालको राष्ट्रिय हितविरुद्ध कुनै किसिमको सम्झौता नगरिने स्पष्ट गर्नुभयो ।  

विभिन्न देशमा राजदूतको नियुक्ति नभएको र भएका देशबाट पनि फिर्ता बोलाइएको सन्दर्भमा सोधिएको प्रश्नको जवाफमा सम्बन्धित देशको संस्कृति, संस्कार, अन्तर्राष्ट्रिय भाषा र कुटनीतिको ज्ञान भएका योग्य व्यक्तिलाई नियुक्ति गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय हित प्रवर्द्धन गर्न सक्ने सीप र दक्षता भएको व्यक्तिलाई भन्दा पनि आफ्ना मान्छेलाई राजदूत नियुक्त गर्नु हुँदैन भन्ने मेरो मान्यता हो ।’

मन्त्री खड्काले आजै बेलुका संयुक्त राष्ट्र सङ्घको ७६ औँ महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्ने र त्यहाँ रहँदा विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने जानकारी दिनुभयो । 

साथै उहाँले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) देशका विदेश मन्त्रीहरूसँग छलफल गर्ने जानकारी दिँदै यस्ता भेटघाट देशका हित प्रवर्द्धनका साथै कुटनीतक सम्बन्ध विस्तार गर्न सहयोगी हुने बताउनुभयो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया