एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीलाई पूर्ववत् अवस्थामै फर्काउने योजना

 असोज १५, २०७८ शुक्रबार ६:५९:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो ।

ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नयाँ राजनीतिक परिस्थितिमा पार्टीको नीति र विधि तय गर्ने एमालेले जनाएको छ ।

भेलामा करिब छ हजार नेता कार्यकर्ता सहभागी हुँदैछन् । आउँदो मङ्सिरको दोस्रो हप्ताका लागि नेतृत्व चयनका लागि पार्टीको दशाैँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशनलाई समसामयिक राजनीतिक दलहरुमध्ये मौलिक विशेषताको भेला मानिएको छ ।

विधान महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने विधान महाधिवेशन मूल व्यवस्थापन समितिले जनाएको छ । उद्घाटन सत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीको तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

विधान महाधिवेशनको दोस्रो दिन भोलि समूह छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ । तेस्रो दिन पर्सि १७ गते दस्ताबेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिने एमालेले जनाएको छ ।

एमालेले विधान महाधिवेशनमार्फत पहिलो शक्ति नै बन्ने कार्यदिशा बनाउनुका साथै पार्टी छोडेका नेता कार्यकर्ता फर्काउने योजना पनि बनाएको छ । नेतृत्वमा ७० वर्षे उमेरहदलाई निरन्तरता दिने, प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने, पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने, फरक मतलाई सकेसम्म राजनीतिक र साङ्गठानिक प्रतिवेदनमा समेटर विभाजन रोक्ने लगायतको योजनासहित विधान महाधिवेशन अगाडि बढाएको छ ।

विधान महाधिवेशनमा पार्टीका केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेसागत सङ्गठनबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् । 

कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजर प्रयोग र थर्मल गनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया