कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदै

 कात्तिक १६, २०७८ मंगलबार ८:२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कर्णाली र प्रदेश एकले आज नयाँ मुख्यमन्त्री पाउँदैछन् । कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दिएको राजीनामा स्वीकृत गरी आज बेलुका साढे ७ बजेसम्म मुख्यमन्त्रीमा दाबी गर्न आव्हान गर्नुभएको छ ।

माओवादी केन्द्रका तर्फबाट कर्णालीमा मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीले हिजो मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । शाहीको राजीनामापछि कर्णालीमा कांग्रेस नेतृत्वमा सरकार बन्दैछ । गएको बैशाख २ मा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीचको सहमतिअनुसार ६ महिनापछि कांग्रेसलाई नेतृत्व दिने सहमति भएको थियो । त्यही सहमतिअनुसार कांग्रेस प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीलाई  मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ । ४० जना सांसद रहेको कर्णाली प्रदेशसभा अहिले ३५ सदस्यीय छ । एमालेका चार सांसद कारबाहीमा परेपछि र माओवादी केन्द्रका एक सांसद एमालेमा गएपछि पद रिक्त छ ।

प्रदेश सभामा बहुमतका लागि १८ मत चाहिन्छ । माओवादीसँग १२ र कांग्रेससँग ६ सांसद छन् । यी दुई पार्टी मिल्दा बहुमत पुग्छ । कर्णालीमा नेकपा (एकीकृत सामाजवादी)का तीन जना सांसद छन् ।

यस्तै, प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि प्रदेश १ मा आज दिउँसो १ बजेसम्म दाबी पेस गर्न आह्वान भएको थियो । हिजो प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेलगत्तै राईले ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । उहाँलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठनका लागि ४७ सांसदको हस्ताक्षर भए पुग्छ । आज दिउँसो शपथग्रहणको तयारी छ । 
 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया