काठमाण्डौलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्छ : राष्ट्रपति भण्डारी

 मंसिर ४, २०७८ शनिबार १६:१८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डाैलाई नमूना राजधानी बनाउन विद्युतीय गाडी सञ्चालन गर्नुपर्ने बताउनुभएकाे छ ।

राष्ट्रपति भण्डारीले पेट्रोलियम पदार्थले देशमा थोपरेको भारलाई कम गर्न, वायु प्रदुषण कम गरी स्वच्छ र सफा काठमाण्डौ बनाउन पनि विद्युतीय गाडीको प्रयोग अति आवश्यक भएको स्पष्ट पार्नुभयो ।

शनिबार काठमाण्डौ स्वयम्भू परिसरमा पुनर्निर्माण गरिएको ज्ञानमाला भजन खलः भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले देशको आत्मनिर्भरतको निम्ति, काठमाण्डौ उपत्यकालाई नमूनायोग्य बनाउनका लागि स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग अति उपयोगी हुने स्मरण गराउनु भयो । राष्ट्रपति भण्डारीले काठमाण्डौ उपत्यकामा बढिरहेको प्रदूषणलाई कम गर्न इँटाभट्टाहरुमा पनि विद्युतीय ऊर्जाहरुको उपयोग गर्न ढिलाई गर्न नहुनेमा जोड दिनु भयो ।

उहाँले सिमेन्ट उद्योगहरुमा विद्युतीय ऊर्जाको प्रयोग गरेर पनि नेपाललाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ अघि बढाउन सकिने बताउनु भयो । राष्ट्रपति भण्डारीले त्यसका लागि नेपालमा स्रोतको कुनै कमी नभएको पनि उल्लेख गर्नुभयो । उहाँले बुद्ध दर्शनलाई गीत, संगीतको माध्यमबाट विश्वभर फैल्याउने काम गरिरहेको ज्ञानमाला भजन खलःले आफ्नो भवन पुनर्निर्माणमा पनि आफ्नै स्रोत र साधन प्रयोग गरेको उल्लेख गर्दै त्यसबाट सबैले सिकेर अघि बढ्न सके देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजाने अभियानमा ढिलाई नहुने बताउनु भयो ।

‘काठमाण्डौ उपत्यकामा विद्युतीय गाडीहरु सञ्चालनमा ल्याउने हो भने यहाँको वातावरण स्वच्छ हुन्छ र हामीले पेट्रोलियम पदार्थमा जुन बोझ बोकिराखेका छौं, त्यसबाट हामी मुक्त हुन सक्दछौँ' राष्ट्रपति भण्डारीले भन्नु भयो, 'त्यसैले हामीसँग स्वच्छ विद्युतीय ऊर्जाको ठूलो भण्डार जुन छ, त्यसलाई हामीले आत्मनिर्भरताको लागि किन प्रयोग नगर्ने ? काठमाण्डौ देशको राजधानी हो । यो नमूना हुन सक्छ । यसलाई नमूनाका रुपमा हामी अगाढि बढाउन सक्छौँ ।’

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया