माओवादीलाई बलियाे बनाउनुकाे विकल्प छैन : प्रचण्ड

 मंसिर १६, २०७८ बिहीबार १५:२४:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको छ । 

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीमा रहेका कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताउनुभएको हो । उहाँले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताउनुभयो ।

अध्यक्ष दाहालले हिजाे बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिस्ट भए पनि काम सामन्तीको भएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले नेपालमा परिवर्तनको रक्षाका लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनका लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनका लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नका निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन । मानिसहरूलाई कहिलेकाहीँ भ्रम पर्छ, अरूले पनि गर्छन् कि भनेको जस्तो, जो हिजो गणतन्त्रकाविरुद्ध लागे ती अहिले पनि गणतन्त्रविरोधी नै छन्, जो हिजो सङ्घीयताको विरुद्ध लागे त्यो अहिले पनि सङ्घीयताका विरुद्धै छन्, महिलालाई धेरै अधिकार दिनु हुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । दलितहरूलाई धेरै अधिकार दिनुहुन्न भन्नेहरू अहिले पनि त्यहीँ छन् । यो सबै चिज माओवादी आन्दोलनकै परिणाम भएको हुनाले माओवादी बलियो हुँदा यी सबै परिवर्तन र उपलब्धि बच्छन् पनि, तिनको रक्षा पनि हुन्छ र थप उपलब्धिको निम्ति अघि जान सकिन्छ । माओवादी कमजोर भयो भने हामीले देख्यौँ नि कति छिटो, अलिकति माओवादी विभाजन भएको देख्दा, माओवादी सङ्गठन भएको कि भन्ने लागेपछि त संविधान नै मिच्ने, च्यात्नेसम्म भयाे । जहाँ समावेशी, समानुपातिक छ त्यसलाई हटाउने, गणतन्त्रै उल्ट्याउन खोज्ने, हिजो मात्रै राप्रपाको अधिवेशनमा एउटा आफूलाई पुरानो कम्युनिस्ट भन्ने मान्छे त पूरै राजाको प्रशंसा गरेर राप्रपा मात्रै देशभक्त भनेकोजस्तो गरे, मैले उनलाई तिमी त राप्रपाको अध्यक्ष हुने तयारी गरेछौ भने, यस्ता पनि कम्युनिस्ट छन्, नाम कम्युनिस्ट छ, काम सामन्तीको जस्तो गर्छन् । त्यस कारण माओवादीलाई बलियो बनाउनुको कुनै विकल्प नेपालमा छैन ।’

अध्यक्ष दाहालले नेकपा एमालेमा रहेका केही मधेश केन्द्रित नेताहरूलाई कुकुरको पुच्छरसँग तुलना गर्नुभयो । उहाँले नेकपा एमालेमा रहेका नेता सच्चिन्छु भनेर माओवादीमा आए पनि पछि एमालेमै फर्किएको बताउनुभयो । उहाँले मधेशी नागरिक, दलित, जनजातिहरूको हकहितको कुरालाई लिएर आफूले संविधान संशाधनको प्रस्ताव राख्दा एमाले नामको केपी गुटले नमान्दा संशाेधन हुन नसकेको दाबी गर्नुभयाे । अध्यक्ष दाहालले नेकपा एमाले जनजाति, दलित, महिला, मुस्लिमहरूको हक अधिकार र पहिचानको विरोधी रहेको आरोपसमेत लगाउनुभयो ।

उहाँले देशभर अहिले झन्डै आठ लाख सदस्य नेकपा माओवादी केन्द्रमा नवीकरणमा आइसकेको भन्दै अझै केही समय पाएमा त्यो सङ्ख्या १० लाख पुग्ने दाबी गर्नुभयो । उहाँले माओवादी केन्द्रलाई नागरिकले आफ्नो लागि काम गर्ने पार्टीका रूपमा हेरेको र पार्टीप्रति नागरिककाे आत्मविश्वास बढ्दै गएको बताउनुभयो । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेन्डा भनेको माओवादीकै एजेन्डा भएको बताउँदै केही समय काठमाण्डाै केन्द्रित भएर नेताहरूको काम गर्दा घाइते, अपाङ्ग र शहीदहरूप्रतिका एजेन्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गर्नुभयो । उहाँले जुनसुकै मूल्य चुकाएर भए पनि राष्ट्र, नागरिक र उनीहरूको मुक्ति आन्दोलनलाई निष्कर्षमा पुर्‍याउने कुरा नागरिक समक्ष प्रस्तुत गर्न नेता, कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । अध्यक्ष दाहालले देशमा नागरिक र कार्यकर्ता नबिग्रिएको बरु नेताहरू नै बिग्रिएको भन्दै नेताहरू सच्चिन्छौँ भनेपछि सबै कुरा लयमा आएको दाबी गर्नुभयो । 

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया