‘एमालेले निष्कासन गरेका व्यक्ति राखेर संसद् चल्न दिँदैनाैँ’

 मंसिर १७, २०७८ शुक्रबार १५:९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २८ गतेका लागि आह्वान गरिएको संसद् बैठक चल्न नदिने अडान दोहोर्‍याउनुभएकाे छ । आज शुक्रवार काठमाण्डाैकाे थापाथलीमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर २८ गते आह्वान गर्नुभएकाे सङ्घीय संसद्काे दुवै बैठक चल्न नदिने बताउनुभएकाे हाे ।  

अध्यक्ष ओलीले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका सांसदहरू बैठकमा आउने भएकाले आफूहरूले संसद् बैठक चल्न दिन नसक्ने तर्कसमेत गर्नुभयो । उनीहरू गैरसांसद भएकाले उनीहरू आएको संसद् बैठकलाई एमालेले चल्न दिन नसक्ने अध्यक्ष ओलीको भनाइ थियो । 

यस्तै उहाँले सभामुख अग्निप्रसाद सापकोटाले सत्तारुढ गठबन्धनसँग अपवित्र साँठगाँठ गरेर आफ्नो पार्टीलाई फुटाउने काम गरेको भन्दै आक्रोश पनि व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर बैठक कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरू फेरी २८ गते आउँछन् भने त्यो कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । हामीले भन्दै आएका छाैँ–सभामुखजी सत्ता पक्षीय गठबन्धनसँग अनुचित, अपवित्र गठबन्धन गरेर एमालेका विरुद्ध लाग्नुभएको छ । निष्पक्ष रहनुपर्ने सभामुखको पद निष्पक्ष देखिएन । महँगी बढेको छ, नागरिकले अरू समस्या भोगिरहनुपरेको छ । काेभिड–१९ काे नयाँ भेरियन्टकाे जाेखिम छ । अनेक समस्या छ, त्यतातिर सरकारको ध्यान गएको छैन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीको दशौँ महाधिवेशन अत्यन्तै सफलताका साथ सम्पन्न भएको बताउनुभयाे । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया